काठमाडौं । रूपन्देहीको देवदह नगरपालिका–१० चरंगेमा भएको कार दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. शंकर भण्डारीको निधन भएको छ ।
चरंगेबाट बुटवलतर्फ आउने क्रममा चरंगे खोलाको कल्भर्टमा बा १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परेको हो । सडकबाट कार खोलामा खसेपछि गुल्मीको छत्रकोट गाउँपालिका–१ निवासी ५२ वर्षीय भण्डारीको मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए ।
घटनास्थलबाट तत्काल उद्धार गरी बुटवलको रामनगरस्थित गौतमबुद्ध मुटु अस्पतालमा पुर्याइए पनि अस्पतालमा पुग्दा उनको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए । कार भण्डारी आफैले चलाएका थिए । कार खोलामा खसेपछि घाइते भएका उनको खोलामा डुबेको अवस्थामा उद्धार गरिएको थियो ।
भण्डारी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ हुन् । उनी त्रिभुवन विश्वविद्यालय खेलकुद निर्देशनालयका निर्देशकसमेत थिए। गाडीमा अन्य दुई जना रहे पनि अरुलाई केही नभएको आफन्त नारायण भण्डारीले बताए ।