चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य ९ करोड ५० लाख

0
824

पेइचिङ । चिनियाँ कम्युनिस्ट पार्टीको १०० औँ स्थापना दिवसको अवसरमा चीनको राजधानी पेइचिङको ऐतिहासिक तेन आन मेन चोकमा बिहीबार भव्य समारोह आयोजना गरिंदै छ ।
पेइचिङ समयअनुसार बिहान ८ बजेबाट सुरु हुने शतवार्षिकी समारोहमा चिकपाका महासचिव एवम् चीनका राष्ट्रपति, केन्द्रीय सैनिक आयोगका अध्यक्ष सी चिनफिङलगायत चीनका पुराना र अहिलेका नेताहरू सहभागी हुने चीनका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
शतवार्षिकी समारोह चाइना मिडिया ग्रुपका विभिन्न सञ्चारमाध्यम र सिन्ह्वाबाट प्रत्यक्ष प्रसारण हुने बताइएको छ ।
यसैबीच चिकपाको केन्द्रीय सङ्गठन विभागले पार्टीको सदस्य सङ्ख्यामा वृद्धि भएको जानकारी सार्वजनिक गरेको छ । जुन ५ सम्मको तथ्याङ्कअनुसार चिकपाको कुल सदस्य सङ्ख्या ९ करोड ५१ लाख र प्रारम्भिक तहको सङ्गठन ४९ लाख वटा भएको बताएको छ ।
कुल पार्टी सदस्यमध्ये २ करोड ७४ लाख ५० हजार जना महिला छन् । कुल पार्टी सदस्य सङ्ख्याको २८.८ प्रतिशत महिला रहेको तथ्याङ्कले देखाएको छ । त्यस्तै कुल सङ्ख्याको ७.५ प्रतिशत अर्थात् ७१ लाख ३५ हजार जना सदस्य अल्पसङ्ख्यक आदिवासी समूहबाट छन् । कुल सङ्ख्याको ५२ प्रतिशत अर्थात् ४ करोड ९५ लाख ११ हजार सदस्यले स्नातक वा सोभन्दा माथिल्लो पढाइ पूरा गरेको चिकपाको सङ्गठन विभागले बताएको छ ।
हालका सदस्यमध्ये १ लाख ३४ हजार सदस्यहरू सन् १९४९ को अक्टोबरमा जनगणतन्त्र चीन स्थापना हुनुअघि नै पार्टीको सदस्य रहेको देखिएको छ । त्यस्तै १ करोड ४५ लाख ५० हजार पार्टी सदस्यले सन् १९४९ देखि १९७८ को बीचमा सदस्य बनेका थिए । सन् १९७८ मा आयोजित चिकपाको एघारौँ केन्द्रीय समितिको तेस्रो विस्तार बैठकले सुधार तथा खुलापन नीति कार्यान्वयनमा ल्याएको थियो ।

       
हालका सदस्यहरूमध्ये ६ करोड ९ लाख ४० हजार जना सन् १९७८ देखि २०१२ सम्ममा पार्टी सदस्य बनेका थिए । सन् २०१२ मा चिकपाको अठारौँ महाधिवेशन भएको थियो । सोही महाधिवेशनबाट सी चिनफिङ महासचिव पदमा निर्वाचित हुनुभएको थियो । सन् २०१२ यतामात्र १ करोड ९५ लाख १० हजार जनाले चिकपाको पार्टी सदस्यता लिएका छन् ।
गत जून ५ सम्ममा चिकपाको सदस्यका लागि आवेदन भरेका उम्मेदवार सदस्यको सङ्ख्या २ करोड रहेको छ ।
पार्टी सदस्यमध्ये झन्डै २ करोड ३६ लाख ८० हजार जना अर्थात् २४.९ प्रतिशत ३५ वर्ष वा सोभन्दा कम उमेरका छन् । सन् २०१९ को अन्त्यमा सार्वजनिक तथ्याङ्कको तुलनामा ०.७ प्रतिशतले यो उमेरको सदस्य सङ्ख्या बढेको छ ।


हालको सदस्य सङ्ख्या सन् १९४९ को तुलनामा ११.६ गुणाले बढेको छ । किसान र मजदुरहरूको सङ्ख्या कुल सदस्य सङ्ख्याको ३३.९ प्रतिशत छ । १ करोड ६ लाख १० हजार जनता विभिन्न प्रतिष्ठान, सार्वजनिक संस्था र सामाजिक सङ्गठनबाट भएको सङ्गठन विभागले जनाएको छ । १ करोड ५० लाख सदस्य भने व्यवसायिक र प्राविधिक क्षेत्रका व्यक्तिहरू छन् । सन् १९२१ मा पार्टी स्थापना हुँदा सदस्य सङ्ख्या जम्मा ५० थियो ।