‘रेशम फिरीरी…’ मा सर्जककै नाम छुटाएपछि छोरीहरुको आपत्ति

0
1109

काठमाडौं । विश्व प्रसिद्ध नेपाली गीत ‘रेशम फिरीरी…’ नसुन्ने स्रोता कमै होलान् । यो गीत नेपालमा मात्र होइन, विदेशमा पनि उत्तिकै लोकप्रिय मानिन्छ ।

विदेशीहरुले समेत यो गीतको धुन असाध्यै मन मन पराउँछन् । यो सदावहार तथा कर्णप्रिय गीतका गीतकार तथा संकलन हुन् बुद्ध परियार । यो गीतमा गायकद्वय द्वारिकालाल जोशी तथा सुन्दर श्रेष्ठको स्वर सुन्न सकिन्छ ।

यद्यपि, हालैमात्र नेपाल सरकारको शिक्षा मन्त्रालयको स्विकृतिमा प्रकाशित कक्षा ६ को एउटा पाठयपुस्तकमा उक्त गीतका गीतकारको मात्र नाम उल्लेख गरिएको पाइएको छ । उक्त गीतका सर्जकको नाममा गायकद्वयको नाम छुटेपछि अमर गायक द्वारिकालाल जोशी तथा सुन्दर श्रेष्ठका छोरीहरुले चित्त दुखाउँदै दु:ख व्यक्त गरेका छन् ।

गायक तथा संगीतकार द्वारिका लाल जोशीका छोरी लसता जोशी तथा भिन्तुना जोशी र सुन्दर श्रेष्ठकी छोरी संगीता श्रेष्ठले उक्त प्रसंगमा आपत्ति जनाएका हुन् । गायक द्वारिकालाल जोशीका छोरी लसता जोशी तथा भिन्तुना जोशी आफैं पनि कलाकार हुन् । लसता गायिककाको रुपमा सक्रिय छिन् भने भिन्तुना अभिनय क्षेत्रमा सक्रिय कलाकार हुन् ।

आफ्नो बुवा द्वारिकालाल जोशीको नाम उक्त पाठ्यपुस्तकमा उल्लेख नगरिएको सन्दर्भमा लसता तथा भिन्तुनाको प्रश्न छ– ‘नेपालको प्रथम राष्ट्रिय गीत श्रीमान् गम्भीर नेपालीका रचनाकार चक्रपाणि चालिसे हुन् भन्ने कुरा सबैलाई थाहा छ, तर यो राष्ट्रिय गानका संगीतकार बखतबहादुर बुढापिर्थीले गरेका थिए धेरैलाई थाहा नहुन सक्छ । त्यसैगरी नेपाल र नेपालीलाई विश्वभर चिनाउने गीत ‘रेसम फिरिरी’ मा गायक सुन्दर श्रेष्ठ, हाम्रा बुबा अमर संगीतकर्मी द्वारिका लाल जोशी तथा संकलक बुद्धि परियारको ठूलो योगदान छ । हालै शिक्षा मन्त्रालयबाट स्वीकृत कक्षा ६ अन्तर्गतको पुस्तक ‘Health, Physical Education and Creative Arts’ मा यस गीतका श्रष्टाहरुमध्ये एक जनाको मात्र नाम उल्लेख गर्नु गल्ती हो कि श्रष्टा प्रतीको अपमान ?’

कलाकर्मीसंगको कुराकानीमा गायिका लसता जोशीले पुस्तक प्रकाशनमा भएको उक्त भूललाई सुधार गराउनका लागि आफूहरु प्रकृयामा रहेको बताएका छन् ।