आज राति युरोकप फुटबलको फाइनल खेलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्ने

0
1068

काठमाडौं,२७ असार २०७८,आइतबार । १६ औं संस्करणको युरोकप फुटबलको फाइनल खेल आज (आइतबार) राति हुँदैछ । वेम्बली स्टेडियमा हुने फाइनलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल राति १२:४५ बजे सुरु हुनेछ ।

इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो । एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्न लागेको हो । इंग्ल्यान्ड र इटाली दुबै टोली यस पटक उपाधि जित्ने लक्ष्यमा रहेका छन् । दुबै टोलीका मुख्य प्रशिक्षक उपाधि जित्न तयार रहेको बताउँछन् ।
इटाली  तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै उपाधि नजिक पुगेको हो  । पहिलो सेमिफाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गरेको थियो  ।

 

इटालीको यो मुख्य प्रतियोगितामा १० औं फाइनल यात्रा हो । यस अघि इटालीले विश्वकपमा ६ र युरोमा ४ पटक फाइनल खेलिसकेको छ । इंग्ल्यान्डले डेनमार्कलाई पराजित गर्दै इटालीसँगको भेट पक्का गरेको हो  । रोमान्चक खेलमा इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको थियो  ।

इंग्ल्यान्ड युरोकपको फाइनल खेल्ने १३ औं राष्ट्र हो । इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । इंग्ल्यान्ड र इटालीबीच हालसम्म २७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा इटाली हाबी हुँदै आईरहेको छ ।

इंग्ल्यान्डविरुद्ध इटालीले ११ खेल जितेको छ । इंग्ल्यान्डले भने ८ खेलमा जित निकालेको छ । दुई टिमबीचको ८ खेल बराबरीमा सकिएको छ ।