सार्वजनिक यातायात भाडा २८ प्रतिशतसम्म बढ्यो

0
790
सरकारले सार्वजनिक यातायातको भाडा २० देखि २८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ।

सार्वजनिक यातायात सञ्चालसँग सम्बन्धित लगानी तथा खर्चबारे यातायात व्यवस्था विभागले गरेको बजार अध्ययन तथा विश्लेषण एवं सरोकारवाला पक्षसँग गरिएको परामर्शका आधारमा भाडा वृद्धि गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफालगायत मुख्य सूचकमा देखिएको मूल्य वृद्धिका आधारमा लामो दुरीमा चल्ने सार्वजनिक यातायातका सवारीको भाडा वृद्धि गरिएको हो।

मन्त्रालयले दुई वा सोभन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका सार्वजनिक यातायात रुटमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारी भाडा दर बढाएको हो।

जसअनुसार यात्रुवाहक सवारीका हकमा २८ प्रतिशतका दरले भाडा बढाइएको छ। त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि गरिएको छ।