भक्तपुर, १ साउन २०७८, शुक्रबार । आजदेखि लागू हुनेगरि काठमाडौं उपत्यकामा साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको संयुक्त बैठकले निषेधाज्ञा १० दिन थप्ने निर्णय बिहीबार गरेको थियो।
यसपाली भने पसल तथा अन्य व्यवसाय साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने गरी अनुमति प्रदान गरिएको छ। यसअघि ६ बजेसम्म सञ्चालन गर्न भनिएको थियो। आदेशमा भीडभाड हुने सबै गतिविधि सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, मनोरञ्जनस्थल, रङ्गशाला, सङ्ग्रहालय, सभा, सम्मेलन गर्न रोक लगाइएको छ। आदेशमा खुला स्थानमा हुने भीडभाड, जात्रा, मेला, महोत्सवमासमेत रोक लगाइएको छ।
अत्यावश्यक वस्तुको अनलाइन अर्डर, रेष्टुरेन्ट एवं फाष्टफुड तथा अन्य अर्डरको टेवअवे तथा होम डेलिभरीका लागि मात्र साँझ ७ बजेसम्म खुला गरिएको छ । स्वीकृत क्षमताभन्दा बढी यात्रु नराखी उपत्यकाभित्र सार्वजनिक सवारी सञ्चालन गर्न सकिने र निजी सवारी साधन तोकिएको मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने विगतको आदेशलाई यथावत राखिएको छ ।
अत्यावश्यक काम विशेषले काठमाडौं भित्रिने सवारी साधनलाई प्रवेश दिइने आदेशमा उल्लेख छ । सार्वजनिक तथा निजी निर्माणका लागि सामग्री ढुवानीका साधन राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ । स्थानीय ढुवानी भने बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
शर्त पालना गरी पूर्वनिर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्न सकिने विगतको व्यवस्थालाई यथावत् राखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । जसमा २५ जनाभन्दा बढी व्यक्ति एउटै कक्षमा सहभागी गराउन पाइने छैन ।
गोष्ठी, सेमिनार, तालीम, बैठक, समीक्षा कार्यक्रम, प्रशिक्षणजस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्न र भौतिकरुपमा उपस्थित हुँदा बढीमा २५ जना मात्रै सहभागी नगराउन आदेशमा भनिएको छ। पुजारीबाट हुने नित्य पूजाबाहेकका धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न पाइने छैन ।