साउन महिनालाई देवाधिदेव महादेवको प्रिय महिना मानिन्छ तसर्थ हिन्दू धर्मावलम्बीहरूले साउन महिनाभर संयमित आहारविहार गरी महादेवलाई खुसी राख्ने प्रयास गर्छन् । महादेवलाई खुसी पार्नाले मनोवाञ्छित सफलता प्राप्त हुने जनविश्वास छ । भगवान् महादेव वा शंकरलाई आशुतोष, शिवजी, भोलेनाथ, भूतेश्वर, महाकाल, सोमेश्वर, महेश आदि नामले चिनिन्छ । सबैभन्दा पहिले शिवजीलाई नाम दिने ब्रह्मा हुन् भन्ने मान्यता छ ।
त्यतिबेला उनले शिवलाई रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान एवं महादेव गरी ८ नामले सम्बोधन गरेका थिए । वेद–पुराणहरूमा शिवलाई कल्याणणकारी ईश्वरको स्थान दिइएको छ । आइन्स्टाइनभन्दा अघि शिवले नै भनेका थिए–कल्पना ज्ञानभन्दा बढी महत्वपूर्ण कुरा हो । हामी जस्तो कल्पना र विचार गर्छौं आफू पनि त्यस्तै हुन्छौं ।
शिवले यही आधारमा ध्यानका थुप्रै विधि विकास गरेका थिए । यो धर्तीमा सर्वप्रथम शिवले नै जीवनको प्रचार–प्रसार गरेका हुनाले उनलाई आदिदेव, आदिनाथ वा आदीश पनि भनिन्छ । शिवको प्रमुख अस्त्र त्रिशूल हो जसले आध्यात्मिक, आधिदैविक एवं आधिभौतिकजस्ता तीन प्रकारका दु:खको विनाश गर्छ । यसमा सत्व, रज र तम अर्थात् इलेक्ट्रोन, प्रोटोन र न्यूट्रनजस्ता तीन शक्ति भएको विश्वास गरिन्छ । शिवलाई आदिगुरु एवं योगका प्रवर्तक मानिन्छ । शिवका प्रमुख शिक्षा सूत्रात्मक रूपमा विज्ञान भैरव तन्त्र नामक ग्रन्थमा पाइन्छ ।
यसबाहेक उनको शिव संहिता नामक महत्वपूर्ण ग्रन्थ पनि छ भने तन्त्रका अनेकौं ग्रन्थमा उनको शिक्षा विस्तार भएको छ । शिव वा महादेवको आराधना ज्योतिर्लिङ्गका रूपमा गरिन्छ । नेपाललाई शक्तिभूमि भनिन्छ र नेपालका हरेक शक्तिपीठमा शक्तिसँगै शिवको पनि पूजा हुन्छ । शक्ति सदैव शिवसँगै रहने भएकाले शिवपूजाबिना शक्तिपूजा पूर्ण हुँदैन ।