भक्तपुर, १४ असोज २०७८, विहीबार । नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुर जिल्ला समितिले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
समितिका पदाधिकारीहरु सम्मिलित टोलीले सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीलाई ज्ञापनपत्र बुझाएको हो ।
कोभिड १९ सङ्क्रमण रोकथाम, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता खारेजी, भारत अतिक्रमित नेपाली भूमि फिर्ता, प्राकृतिक प्रकोप पीडित जनताको व्यवस्थापन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता, यातायात भाडा वृद्धि फिर्ता, निःशुल्क र अनिवार्य शिक्षा, विश्वविद्यालयमा दलिय भागबन्डा अन्त्य र निजी शैक्षिक संस्थानहरुले मनलाग्दो गरेको शुल्क वृद्धि खारेजीका बुदाँहरु समेटेर समितिले ज्ञापनपत्र बुझाएको हो ।
भेटका क्रममा समितिका सदस्य प्रविन लाखाजूले र समितिका संयोजक मिलन गणेजूले भक्तपुरका जिल्ला अधिकारीलाई प्रधानमन्त्री समक्ष उक्त ज्ञापनपत्र बुझाउन भनिएको छ ।
त्यस्तै नेक्राविसंघ जुम्ला जिल्ला समितिले आइतबार जुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको थियो । नेक्राविसंघले देशभरका प्रजिअमार्फत जनजीविकाको विषयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम घोषणा गरेको छ ।