सरकारले भुटानबाट कोरोना खोप सापट ल्याउँदै

0
765

काठमाडौं । सरकारले भुटानबाट ३ लाख डोज कोरोना खोप ल्याउन पहल थालेको छ। परराष्ट्र मन्त्रालयमार्फत् खोप ल्याउने तयारी सरकारले अघि बढाएको हो।

भुटानले विभिन्न मुलुकबाट ल्याएको खोप आफ्ना नागरिकलाई लगाइसकेपछि बाँकी रहेको खोप नेपाल ल्याउन लागिएको हो।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भुटानबाट खोप ल्याउने पहल भइरहेको जानकारी दिइन्।

‘भुटानमा प्रयोग भएर बाँकी रहेको खोप नेपालमा सापटीको रुपमा ल्याउन खोजिएको भन्ने प्रारम्भिक जानकारी छ, कति ल्याउने भन्नेबारे स्वास्थ्य मन्त्रालयले वर्कआउट गरिरहेको छ,’ प्रवक्ता लम्सालले भनिन्।

उनले खोपबारे बुझ्ने काम भइरहको छ, पछि पाइयो भने ल्याउने र पछि दिने हिसाबले ल्याउने पहल भइरहेको बताइन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले भने यसबारेमा मन्त्रालय त्यति जानकार नभएको बताए।

भुटानमा अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत ५ लाख मोडर्ना, ५ हजार ८ सय ५० डोज फाइजर, १ लाख ५० हजार एस्ट्राजेनेका, क्रोयसिया, बुल्गेरिया र अन्य केही मुलुकबाट एस्ट्राजेनेकाकै १ लाख, कोभ्याक्स सुविधाअन्तर्गत सिनोफार्मको ५० हजार डोज भित्रिएको थियो।

शुक्रबार बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकमा पनि भुटानबाट खोप ल्याउने विषयमा छलफल भएको थियो।

भुटानबाट ल्याउने एस्ट्राजेनेका खोप काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई दोस्रो डोज दिन प्रयोग गरिने बताइएको छ।