कक्षा १२ को परीक्षा सञ्चालन गर्न नेक्राविसंघ मावि समितिले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो

0
1123

भक्तपुर । नेपाल क्रान्तिकारी विद्यार्थी संघ मावि जिल्ला समिति भक्तपुरले कक्षा १२ को परीक्षा स्थगित गरेकोमा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

नेक्राविसंघ मावि जिल्ला समिति भक्तपुरका संयोजक रितिष्णा दुवालको नेतृत्वमा गएको टोलीले विद्यार्थीहरूलाई कोभिडविरुद्धको खोप सहजरुपमा उपलब्ध गराउनुपर्ने, निःशुल्क स्वास्थ्य बिमा तथा स्वास्थ्य अनुशासन पालना गरेर परीक्षा सञ्चालन गर्नुपर्ने माग गरेको छ ।

टोलीले भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न असम्भव देखिए अन्य वैकल्पिक उपायबाट तत्काल परीक्षा सञ्चालन गर्नुपर्ने सुझाव राखेको छ ।

परीक्षा स्थगितले विद्यार्थी र अभिभावक अन्योल भएको र यस्तो निर्णयले गर्दा शैक्षिक अवस्था खस्केको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले साउन ६ गते सूचना प्रकाशन गरि स्वास्थ्य मापदण्डको पालन गराई भौतिक उपस्थितिमै परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो । पछिल्लो समय उपत्यका लगायत अधिकांश जिल्लामा कोरोना सङ्क्रमित बढेसँगै परिक्षा स्थगित गरेको थियोे । तर परीक्षा स्थगित गर्ने निर्णयले परीक्षा हुने वा नहुने अन्योलको स्थितिमा पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले नेक्राविसंघले बुझाएको ज्ञापनपत्र सम्बन्धित कार्यालयमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।