भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर काण्ड निरङ्कुश पञ्चायती व्यवस्थाको फासीवादी दमन भएको बताए ।
नेपाल क्रान्तिकारी महिला सङघ भक्तपुरको आयोजनामा गरेको भक्तपुर काण्ड (२०४५ भदौ ९) को विरोध तथा भत्र्सना कार्यक्रममा बुधबार अध्यक्ष रोहितले भक्तपुर काण्ड नेमकिपाविरूद्धको षड्यन्त्रमात्र नभई विचार, वर्ग, जाति, भाषा र धर्मको विरोधमा गरिएको फासीवादी दमन पनि भएको बताए ।
उहाँले भन्नुभयो, “इटालीमा मुस्सोलिनीले कुलीन वर्गको शासन कायम गर्न एक देश, एक भाषा, एक पार्टीबाहेक सबैमाथि दमन गर्यो, त्यस्तै जर्मनीमा हिटलर र नाजीहरूले शुद्ध आर्य रगत र जर्मन भाषीबाहेक सबैमाथि नृशंस दमन गर्यो । नेपालमा पञ्चायती शासकहरूले एक देश र एक राष्ट्रियताको नाममा दमन गरेका थिए ।”
पञ्चायती व्यवस्थाविरूद्ध नेमकिपाको सङ्घर्ष र नेमकिपाविरूद्धको पञ्चायती षड्यन्त्र वर्गीय र राजनीतिक सङ्घर्ष भएको उहाँले बताए ।
भक्तपुर काण्डको क्रममा प्रहरी प्रशासनले नेमकिपाका नेता–कार्यकर्ताहरूको घरघरबाट उठाएको सम्पत्ति र पुस्तक फिर्ता गर्न माग गरिरहेको तर पञ्चायत पछिका कुनै पनि सरकारले त्यो माग पूरा नगरेको उल्लेख गर्दै उहाँले पञ्चायती व्यवस्था अन्त भयो तर पञ्चायतको विचार र प्रवृत्ति अहिले पञ्चहरूलाई आफ्नो पार्टीमा भित्र्याएका नेका, एमाले, माओवादी केन्द्रलगायत पार्टीहरूमा देखिएको बताए ।
देशका कर्मचारी, प्रहरी र सेनालाई प्रजातान्त्रिक विचारले प्रशिक्षण नदिए देशमा पुनः फासीवादी प्रवृत्ति मौलाउने औँल्याउँदै अध्यक्ष बिजुक्छेँले शासक पार्टीहरूले संरक्षण र बढावा दिइरहेको फासीवादी विचारले भोलि ती पार्टीहरू पनि बच्न सक्नेछैनन् भन्नुभयो ।
नेमकिपाका कार्यकर्ताहरूलाई भोलिका दिनमा पनि फासीवादी शासकहरूले पार्टी र नेपाली जनताविरूद्ध षड्यन्त्र रच्न सक्ने र भक्तपुर काण्डको बेलामा भन्दा धेरै दुःखदायी स्थिति आउनसक्नेप्रति सचेत गराउँदै बिजुक्छेंले त्यस्तो स्थितिको सामना गर्न तयार रहन भन्नुभयो । अध्यक्ष रोहितले एमसीसीमार्फत् नेपालमा अमेरिकी सेना ल्याउने र छिमेकी देश चीनविरूद्ध लडाइँको स्थिति निम्त्याएर देशको स्वाधीनता रक्षाको माग गर्ने नेपाली जनतामाथि दमन हुनसक्ने उल्लेख गर्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिका उपाध्यक्ष कमलमैया सुवालले भक्तपुर काण्डको क्रममा पञ्चायती पुलिस र सुराकीले नेमकिपाका नेता कार्यकर्ताहरूको घरमामात्र नभई सर्वसाधारण जनताको घर–घरमा आतङ्क मच्चाएको हुँदा महिलाहरूले प्रहरी आतङ्कको प्रतिकार गरेको बताए । एकपक्षीय पक्षपातपूर्ण सरजमिनविरूद्ध भक्तपुरका महिलाहरूले ऐतिहासिक विरोध जुलुस तथा चोक–चोकमा कोणसभा गरेको र त्यसले पञ्चायती व्यवस्थाविरूद्ध आन्दोलनका लागि ऊर्जा थपेको उहाँले बताए ।