नेपाल मजदुर किसान पार्टी ललितपुर जिल्ला समितिले देशघाती एमसीसी सम्झौताको खारेजीको माग गर्दै शुक्रबार विरोध जुलुस र सभाको आयोजना गर्यो । जाव्लाखेलबाट सुरु भएको विरोध जुलुस मङ्गलबजारमा पुगेर सभामा परिणत भएको थियो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले विश्वका विभिन्न देशहरुमा अमेरिकी साम्राज्यवाद सियो बनेर पस्ने र फाली बनेर त्यो देशलाई तहसनहस बनाएर निस्कने गरेको बताउनुभयो ।
उहाँले एमसीसी अमेरिकी साम्राज्यवादको हिन्द–प्रशान्त सैन्य रणनीतिकै अङ्ग भएको चर्चा गर्दै साम्राज्यवादी हस्तक्षेप सधैँ अनुदान, व्यापार, सहयोगको रुपमा पस्ने र पछि सैन्य अखडा स्थापित हुने बताउनुभयो ।
केन्द्रीय सदस्य ज्याख्वले अमेरिकाले दक्षिण एसियामा नेपाललाई चीनविरुद्धको युद्धको लागि आधार शिविर बनाउन खोजेकोले पनि एमसीसी सम्झौता देशको अहितमा भएको बताउनुभयो ।
ठूला शासक दलहरु सत्तमा हुँदा सधैँ नेपाली जनतामा असमान सन्धि–सम्झौतामार्फत देशका स्रोत, साधन र सार्वभौमिकता गुमाउनुपर्ने त्रास रहेको उहाँको भनाइ थियो ।
सभालाई सम्बोधन गर्दै पार्टीका अर्का केन्द्रीय सदस्य एवं काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले नेपाल भम्रणमा रहेका एमसीसीका उपाध्यक्ष फातिमा सुमारको टोलीलाई ठूलो नेताहरुले भेटघाट गर्दै एमसीसी संसद्बाट पास गराउन चलखेल गर्नु गलत भएको बताउनुभयो ।
भ्रष्टाचारलाई कडाईका साथ नियन्त्रण गर्ने हो भने अमेरिकी अनुदान एमसीसीमार्फत सञ्चालन गरिने परियोजनाहरु नेपाल सरकारले आफ्नै लगानीबाट सञ्चालन गर्न सक्षम रहेको महर्जनको भनाइ थियो ।
उहाँले शासक दलहरुले षठ्यत्र गरी संसद्बाट एमसीसी पास गर्ने चलखेल गरे नेपाली जनताले सजाय दिनेछन् भन्नुभयो ।
सभामा नेमकिपा केन्द्रीय सदस्य राजवीर डंगोल, नेक्राविसंघका केन्द्रीय संयोजक प्रकाश गुरुङ र रमेश प्रजापतिले पनि एमसीसी सम्झौता खारेज गरिनुपर्ने विषयमा आफ्ना विचारहरु राख्नुभएको थियो । जाव्लाखेलबाट लगनेखेल हुँदै मङ्गलबजार पुगेको विरोध जुलुसमा सहभागीहरुले ‘देशघाती एमसीसी–खारजे गर’, ‘एसियालाई युद्धभूमि बनाउन–दिँदैनौँ’, ‘एमसीसीका मतियाहरु–होसियार’, लगायतका नारा लगाएका थिए ।