पर्यटकीय क्षेत्रमा चाँगुनारायणको पदयात्रा

0
1231

भक्तपुर, १०असोज २०७८ आइतबार । ४२ औँ अन्तराष्ट्रिय पर्यटन दिवसको अवसरमा भक्तपुरका चाँगुनारायण नगरपालिकाले शनिबार एक दिवसीय पदयात्रा कार्यक्रम सञ्चालन गरेको छ। नगरपालिका र सोटो नेपालको संयुक्त आयोजनामा उक्त पदयात्रा सञ्चालन गरिएको हो ।

टुरिजम फर इन्क्लुसिभ गोर्थ भन्ने नाराका साथ पालिकाले पदयात्रा सञ्चालन गरेको हो । पालिकाको वडा नम्बर ४ स्थित चाँगुनारायण मन्दिरबाट सुरु भएको पदयात्रा वडा नम्बर ८ स्थित बोजिनी ड्याममा पुगेपछि समापन भएको थियो ।

विश्व सम्पदा सूचीकृत चाँगुनारायण मन्दिर हुँदै त्रिशुलडाँडा, तेलकोट, मुहानपोखरी हुँदै बास्तोला गाउँ हुँदै बोजिनी ड्यामसम्म पदयात्रा सञ्चालन गरिएको थियो । पदयात्रा मार्फत चाँगुनारायण नगरपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने विश्वास सहभागिले गरेका छन् ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोरोना भाइरस महामारीले लामो समयसम्म ओझेलमा परेको पर्यटन क्षेत्र पुनः सञ्चालन ल्याउनको लागि पदयात्राले सहयोग गरेको बताए । उनले महामारीबाट धरासायीमा परेको पर्यटन क्षेत्रलाई पुर्नउत्थान गर्नको लागि पदयात्राले सहयोग गरेको बताएँ ।

उनका अनुसार चाँगुनारायण नगरपालिकाको विश्वसम्पदा चाँगुनारायण मन्दिर देखि बोजिनीसम्मको पदयात्रामा आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषण गराउने काम भइरहेको छ । स्थानीय उत्पादन र होमस्टेलाई अझ प्रभावकारी बनाउन सकेमा पर्यटकहरुलाई थप आकर्षित बनाउन सकिने विश्वास उनले व्यक्त गरे ।

नगरपालिकाको वडा नं. ८ का वडाध्यक्ष परासर सापकोटाले पालिकाले चार वर्ष यता पर्यटकीय क्षेत्रमा भौतिक तथा सामाजिक विकासको कार्य भइरहेको बताए । उनले पर्यटकको ध्यान तान्नको लागि बोजिनी ड्याम निर्माण, करिब ४ किलोमिटर पदमाग निर्माण, मुहानपोखरी, सम्पदाको पुनर्निर्माणसँगै सडकको स्तरोन्नती गर्दै आएको बताए ।

सोटो नेपालका अध्यक्ष नारायण पराजुलीले पदयात्रामार्फत चाँगुनारायण नगरपालिकाको पर्यटन क्षेत्रको सम्भाव्यताको अध्ययन गरेको सुनाए । उनले पालिकाले चार वर्षयता पर्यटन क्षेत्रमा गरेको विकासले आन्तरिक र बाह्य पर्यटकको लागि एक महत्वपूर्ण गन्तव्यस्थल निर्माण गर्दै आएको उल्लेख गरे ।