काठमाडौं । जवाहरलाल नेहेरु विश्वविद्यालय (जेएनयु) छात्र संघका पूर्वअध्यक्ष र कम्युनिस्ट पार्टी अफ इन्डिया (सिपिआई) का नेता कन्हैया कुमार कांग्रेसमा प्रवेश गरेका छन्।
मंगलबार दिल्लीस्थित कांग्रेस मुख्यालयमा आयोजित एक कार्यक्रमकाबीच कन्हैया कांग्रेसमा प्रवेश गरेका हुन्। कांग्रेस (आई) का पूर्वअध्यक्ष राहुल गान्धीको उपस्थितिमा कन्हैयाका साथै प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य गुजरातका विधायक जिग्नेश मेवाणी पनि कांग्रेस प्रवेश गरेका हुन्।
कन्हैयाले देशलाई जोगाउन आफू कांग्रेसमा प्रवेश गरेको बताए। महात्मा गान्धी र भगत सिंहको सपनालाई कांग्रेसले मात्र पूरा गर्न सक्ने उनले दाबी गरेका छन्। कांग्रेस नबचे भारत पनि नबच्ने भएकाले आफू यस पार्टीमा प्रवेश गरेको उनले बताए।