दशैं तिहारका अवसरमा घर रंगरोगन गर्ने चलन छ । विशेष गरी परम्परागत शैलीका ढुङ्गा, माटो तथा काठको प्रयोग गरी बनाइएका घरमा स्थानीयस्तरमा उपलब्ध हुने रातो माटो तथा कमेरोको प्रयोगले घरहरू चिटिक्क पारिन्छन् ।
दसैँका बेला रातोमाटो र कमेरो दलेर झकिझकाउ बनाइन्छन् गाउँका घर । जङ्गली वनस्पतीका बोक्रा पकाएर बनाइएका कालो रङले झ्यालढोका टल्काइन्छन् । अधिकांश घर आधा भाग रातो र आधा भाग सेतो हुने गरी मिलाएर रङ्ग्याउने गाउँले कला हुन्छ।
तर, विगतमा दशैँ र तिहारको समयमा रातो माटोसहित खोटो र कमेरोले घर रङ्गाउने प्रचलन हराउँदै गएको छ । पछिल्ला समयमा सिमेन्टको प्रयोग बढ्न थालसँगै सर्वसाधारणले माटो, कमेरो र खोटोको विकल्पमा आधुनिक रङको प्रयोग गर्न थालेका छन् ।
रातो माटोसँगै घरलाई सजाउन खोटो पकाएर झ्याल ढोकामा लगाउने तथा कमेरो लगाउने गरिन्थ्यो । विशेषगरी छिप्पिएको सालको लोप्रा ताछेर पानीमा पकाएर कालो रङको खोटो तयार गरिन्छ । सालको लोप्राबाट बनाइएको खोटो वर्षमा एक पटक झ्याल ढोकामा लगाए पछि धमिराले नखाने तथा धुल्याहा नलाग्ने बुढापाकाको अनुभव छ ।
विगतमा घरमा रातो माटो, खोटो र कमेरोले लिपपोत गर्नु दशैँ तिहारसँगै जोएिको संस्कृतिको अर्को पाटो जस्तै बनेको थियो । आधुनिकतासँगै विगतका प्रचलन हराउँदै गएपछि अहिलेको पुस्तालाई भने ती कुरा इतिहास जस्तै बन्ने गरेका छन् ।