काठमाडौंको हनुमानढोकास्थित दसैँ घरमा विधिपूर्वक घटस्थापना गरिएको छ । बिहान ११ बजेर ४६ मिनेटको शुभसाइतमा घटस्थापना गरिएको हो।
घटस्थापनाको बेला नेपाली सेनाको एक टुकडीले मंगल धुन बजाएको थियो भने तोप पड्काएर हर्ष बढाई पनि गरेको थियो । घटस्थापनालाई दसैँको पहिलो दिनको रुपमा लिइन्छ ।
दसैँ घरमा सबैको दीर्घायू, आरोग्य, सदगुण, सत्शिक्षाको कामना गर्दै दीप, गणेश र कलशको पूजा गरी घटस्थापना गरी जमरा राखिएको हो ।
दसैँको पहिलो दिन वैदिक विधिपूर्वक द्धीप, गणेश र कलशको पूजा गरी जौको जमरा राख्ने गरिन्छ । यसरी विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरुपा दूर्गा भगवतीको पूजाआराधना गरिने भएकाले त्यस दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो ।
घटस्थापनाको दिन रोपिएको जमरालाई विजया दशमीको दिन शक्तिकी देवी दूर्गा भगवतीको प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ । हरेक वर्ष हनुमान ढोकाको दसैँ घरमा विधिपूर्वक घटस्थापना गर्ने परम्परा छ ।