भक्तपुर । भक्तपुरमा कार्यरत एवं दर्ता भएका सम्पूर्ण गैरसरकारी संस्थाले पनि आफ्नो सूचना अधिकारी तोक्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।
जिल्लास्थित सरकारी, सार्वजनिक सेवा प्रदायक निकायका सूचना अधिकारी र सञ्चारकर्मीहरुको संयुक्त बैठकले गैरसरकारी संस्थाहरुले पनि सूचना अधिकारी तोक्नुपर्ने निर्णय गरेको हो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएका संस्थाहरुले सूचना अधिकारी तोक्न निर्देशन दिनुभएको थियो ।
बैठकले नागरिकले माग गरेका सूचना प्रचलित कानुन बमोजिम सूचना अधिकारीले समयमा उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ । बैठकमा प्रजिअ शर्माले सम्पूर्ण कार्यालयहरुले सूचना अधिकारी तोक्नुपर्ने, निजको फोन नम्बर, ईमेल ठेगाना, फोटो सहितको फ्लेक्स सबै सेवाग्राहीले देखिने गरी राख्नुपर्ने निर्देशन दिनुभयो ।
त्यसैगरी सबै कार्यालयले प्रगति विवरण सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ को उपदफा ३ र ४ तथा सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम प्रत्येक ३-३ महिनामा स्वतः प्रकाशन गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले सबै कार्यालयले सूचना प्रकाशनमा नेपाल पत्रकार महासंघ र हुलाक कार्यालयसँग सहकार्य गरी गर्ने र कार्यालयबाट भएका कार्यहरु नियमित रुपमा सञ्चारमाध्यमलाई जानकारी गराउने निर्णय समेत गरेको छ ।