भक्तपुर । देशघाती एमसीसी सम्झौताको विरोधमा शनिबार चाँगुनारायण नगरपालिकामा जुलुस तथा सभा सम्पन्न भएको छ । चा.न.पा. ७ अधिकारी चोकबाट सुरू भएको जुलुस चा.न.पा. ८ थाकलमठ चोकमा गएर सभामा परिणत भएको थियो ।
सभामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले एमसीसी सम्झौता हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य गठबन्धन नै भएको स्पष्ट पार्नुभयो ।
एमसीसीबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “अमेरिकाले हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य कमान्डरको व्यवस्था गरेको छ । हिन्द–प्रशान्त क्षेत्रका अमेरिकी सैन्य कमान्डर आडमिरल फिलिप डेभिडसनले सन् २०१९ जनवरीमा नेपाल आएर काभ्रेको पाँचथरस्थित सैन्य तालिम स्थलमा स्थलगत गरे । सन् २०१८ डिसेम्बरमा अमेरिका पुगेका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशमन्त्री पोम्पेओसँग हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य गठबन्धन, एमसीसीको ५० करोड डलर सहयोग र प्रजग कोरियाको नेपालमा भएको लगानी तथा कामदार फिर्ता पठाउने विषयमा छलफल गरेका थिए ।”
उहाँले भन्नुभयो, “सन् २०१९ फेब्रुअरीमा नेपाल आएका दक्षिणपूर्व एसियाको निम्ति अमेरिकी विदेशमन्त्री जोसेफ एच फेल्टरले नेपालसँग गहिरो सैन्य सहकार्य गर्ने इच्छा व्यक्त गरेका थिए । सन् २०१९ मे महिनामा नेपाल आएका अमेरिकी रक्षा उपसहायक मन्त्री डाभिड जो रेन्जले हिन्द–प्रशान्त रणनीतिअन्तर्गत नेपालले एमसीसीको ५० करोड डलर पाउने उल्लेख गरे । यसअघि चौथोपटक प्रम भएको बेला देउवाले आफ्ना अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई अमेरिका पठाएर २०७४ भदौ २९ गते एमसीसी सम्झौता गराएका थिए ।”
सचिव सुवालले भन्नुभयो, “सम्झौता दफा ४.२ मा एमसीसीले कम्प्याक्ट अपरेसन विभाग, एसिया, युरोप, प्यासिफिक ल्याटिन अमेरिकाको लागि अतिरिक्त प्रतिनिधि नियुक्ति गर्ने, अनुसूची ५ (क) मा नेपाल सरकारले एमसीसीलाई चित्त बुझ्ने योजना पेश गर्नुपर्ने र त्यस्तो योजनामा भारतको समर्थन हुनुपर्ने, दफा ६.८ मा सम्झौताबाट हानि–नोक्सानी र नेपालीको मृत्यु भएमा दाबी नगर्ने, दफा ७.१ मा नेपालको कानुनसँग बाझिएमा एमसीसी सम्झौता नै लागू हुने, अनुसूची १ मा सम्झौता सहयोग रकम काठमाडौँदेखि बुटवल हुँदै भारतको सीमासम्म विद्युत् प्रसारण लाइन विस्तार गर्नेलगायत उल्लेखित प्रावधानहरू हिन्द–प्रशान्त क्षेत्रको अमेरिकी सैन्य गठबन्धनसँग सम्बन्धित हो ।” अमेरिकी साम्राज्यवादले एसियामा चीनविरूद्ध भारतलाई युद्ध गराउने र हतियार बेच्ने नियतका साथ नै एमसीसी सम्झौता ल्याएको उहाँले स्पष्ट पार्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “भारत अमेरिकाको पछि लाग्ने होइन, पाकिस्तान अफगानिस्तान, चीन, श्रीलङ्का, नेपाल, बङ्गलादेश, माल्दिभ्स, भुटानसँग मैत्रीपूर्ण सम्बन्ध विस्तार गरी यस क्षेत्रमा शान्ति कायम गर्नु जरूरी छ । अमेरिकी साम्राज्यवादले भारतलाई चीन, पाकिस्तान, अफगानिस्तानविरूद्ध उक्साउँदै छ ।”
“अमेरिकी साम्राज्यवादले चीनविरूद्ध युद्ध सुरू गर्न अमेरिका, बेलायत, अष्ट्रेलियाबीच ‘अउकस’ सैन्य मोर्चा गठन ग¥यो भने अमेरिका, अष्टे«लिया, भारत, जापानको बैठक भयो । यी दुवैको अर्थ अष्ट्रेलिया, भारत, जापानमा अमेरिकी सेना र हतियार थप्नु हो”, उहाँले स्पष्ट पार्नुभयो ।
नेमकिपा चाँगुनारायण नगर समितिका उपाध्यक्ष केशव तिमिल्सिनाले देश हितविपरीत सन्धि सम्झौता गर्ने दलालहरूलाई जनताको आँधीबेहरीले पाखा लगाउने बताउनुभयो ।
नेक्रायुसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष मिनबहादुर बाटाले देशको विरूद्ध काम गर्ने दलालहरू गाउँगाउँमा पनि हुने भएकाले गाउँका जनता पनि एमसीसीविरूद्धको सङ्घर्षमा उत्रिनुपर्छ भन्नुभयो । नेक्राविसङ्घ तेर्हौँ सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरूङले सन् १९४५ यता संरा अमेरिकाले आर्थिक सहयोगको नाममा संसारका विभिन्न देशहरूमा हस्तक्षेप गरेको बताउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका तेर्हौँ सम्मेलन तयारी समितिका सहसंयोजक सुरेश परियार, नेक्राविसङ्घ चाँगुनारायण नगर समितिका सरोज दुलाल र नेक्रायुसङ्घ चाँगुनारायण नगर समितिका अर्जुन काफ्लेले पनि बोल्नुभएको थियो ।