भक्तपुर, २२ असोज । “वर्गीय रुपले राजाहरु प्रतिक्रियावादी हुन्छन् । तर कुनै कुनै राजाहरु व्यक्तिगत रुपले साम्राज्यवादविरोधी हुन सक्छन् ।” उक्त विचार नेमकिपा अध्यक्ष का. नारायणमान बिजुक्छेंले नेक्राविसंघ केन्द्रीय समितिको प्रशिक्षणमा राख्नुभएको हो । हिन्द चीनको राजनीतिमा राजा र राजकुमारहरुले साम्राज्यवादविरोधी संघर्षमा जनतासँग मिलेर लडेको हुनाले नयाँ सिद्धान्त जन्मेको उहाँले चर्चा गर्नुभयो । उहाँले सुहार्तोजस्ता जनताका छोराहरु साम्राज्यवादको सेवामा लागेकोले अध्यक्ष माओले साम्राज्यवादविरोधी राजा सिहानुकको पक्ष लिनुभएको स्मरण गर्नुभयो ।
अध्यक्ष बिजुक्छेंले अन्य राजनीतिक पार्टीको नेतृत्वको चेतनास्तर अत्यन्त न्यून भएको चर्चा गर्दै त्यसको प्रभाव हाम्रो घरपरिवार र पार्टी कार्यकर्तामा पनि पर्ने बताउनुभयो । शासकहरुको गल्तीबाट सिक्नुपर्ने जिकिर गर्दै उहाँले भन्नुभयो, “उनीहरुको कुरै, आफूले यो गर्ने, त्यो गर्ने भन्छन्, जनताको सेवाको कुरै गर्दैनन् ।” कार्यकर्ताको जीवनमा हरेक मोडमा अग्निपरीक्षा दिनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “जनताको सेवा गर्ने हो । मालिक बन्ने होइन । सकेको सेवा गर्ने हो । जीवन बर्बाद भयो भन्ने होइन, बरु जीवन सुध्रिएको हो । अनुशासनमा नबस्नेलाई संगठनमा नराखौँ ।”
प्रशिक्षणमा बोल्दै अध्यक्ष बिजुक्छेंले भन्नुभयो, “हाम्रो संघर्ष चौतर्फी छ । हाम्रा कार्यकर्ता भ्रष्टाचार नगर्ने, गुप्त रुपमा काम गर्ने खालको हुनुपर्छ । बरु दुःख पाए पनि संघर्षलाई अघि बढाउनुपर्छ ।” प्रतिभाशाली विद्यार्थीहरु राजनीतिमा आउनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “कार्यकर्ताले लडाइँको बेला चौकी छोड्नुहुन्न । जुनसुकै ठाउँमा काम गरे पनि आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । हाम्रो मुख्य उद्देश्य पढ्ने सोख होइन, देश र जनताको लागि अन्तिम दमसम्म लड्ने हो ।”