भक्तपुर,२९ असोज २०७८,शुक्रबार । नेपालभाषा साहित्य तःमुंज्या यो बर्ष ख्वप कलेजमा हुने भएको छ । कोभिड–१९ को सङ्क्रमणको कारण तःमुंज्या खुलारूपमा सामाजिक स्वास्थ्य मापदण्ड पालना गरि हुने आयोजक समितिले जानकारी गराएको छ ।
गत वर्ष ४० औँ नेपालभाषा तःमुंज्या अनलाइन माध्यममा मात्र भएको थियो । अनलाइन माध्यम कोभिड–१९ बाट सुरक्षित उपयोगी त भयो तर धेरै साहित्यप्रेमीहरू सहभागी हुन पाएनन् । यो वर्ष नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने गरी भौतिकरूपमा नै सहभागी गराएर कलेजको गेटमा थर्मल गनबाट ज्वरो जाँच गर्ने, मास्क तथा स्यानिटाइजर प्रयोगपछि मात्र भित्रिन दिने आयोजक समितिले जानकारी गराएको छ ।
यो वर्ष प्रमुख अतिथिको रूपमा नेमकिपाका अध्यक्ष तथा वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँज्यू र अन्य अतिथिमा सांसद प्रेम सुवाल, भक्तपुर नगर प्रमुख सुनिल प्रजापति, वरिष्ठ पत्रकार भैरव रिसाल, सीमाविद् बुद्धिनारायण श्रेष्ठ तथा रतन भण्डारी, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, डा. सर्वज्ञभक्त मल्ल, गौरीबहादुर कार्की, प्रेमसिंह बस्न्यात, चिकित्सा क्षेत्रका, डा. विश्वबन्धु शर्मा, डा. अरुणा उप्रेती, डा. राजेन्द्र कोजू, डा. पुकारचन्द्र श्रेष्ठ, डा. सरोज धिताल, डा. सुमित्रा गौतमका साथै डा. रामप्रसाद ज्ञवाली, सुलोचना मानन्धर, प्रतिसरा सायमी, नरेन्द्र प्रसाई, इन्दिरा प्रसाईलगायत साहित्यिक र बौद्धिक व्यक्तित्वहरू उपस्थिति हुने जानकारी गराएको छ ।
नेपालभाषा साहित्य तःमुंज्या कामदार जनताको साझा दबु हो । तःमुंज्याको उद्देश्य भनेको नै साहित्य र सांस्कृतिकमार्फत कामदार वर्गको उत्थान गर्ने हो । त्यसैले तःमुंज्याले स्थापनाकालदेखि ‘जनता म्वासा भाषा म्वाई’ (जनता बाँचे भाषा बाँच्छ) उद्घोष गरी निरन्तररूपमा जनताको सेवा गर्दै आइरहेको छ । तःमुंज्यामा नेपालभाषाका साहित्य र सांस्कृतिक प्रस्तुतिको मात्र प्रतियोगिता गरिँदै आएको होइन । देशका विभिन्न भाषा–भाषीहरूको साहित्य र मन्तव्यमार्फत देशको समसामयिक विषयमा छर्लङ्ग पार्ने काम भइरहेको छ । देशको राजनीतिक, सामाजिक, आर्थिक, स्वास्थ्य, ज्ञान विज्ञान आदि विषयका विज्ञहरू आमन्त्रण गरेर उहाँहरूको अनुभव, विचार श्रवण गर्ने र गराउने काम भइरहेको छ । देशको सबै भाषा–संस्कृति विकास गर्न तःमुंज्याले बाटो देखाउने काम गर्दै आइरहेको छ । यसर्थ, तःमुंंज्या जनताको साझा दबुको रूपमा विकास भइरहेको आयोजक समितिका अध्यक्ष गणेशराम थुसासित बताए ।