भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले जनताको घाँटी थिचेर मार्ने संरा अमेरिकाले प्रजातन्त्रको बखान गर्नु हास्यापद रहेको उल्लेख गर्नुहुँदै जर्ज फ्लोयडको हत्यामा अमेरिकी जनताको तीव्र आक्रोश हुँदाहुँदै अमेरिकी जनतालाई अन्यायको विरुद्ध लड्न सङ्गठित गर्ने नेतृत्व तयार नभएको कारण अमेरिकामा अन्यायको श्रृङ्खला बढिरहेको बताउनुभयो । उक्त भनाई नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समितिको आयोजनामा ‘विकासको नाममा अमेरिकी हस्तक्षेप’ अन्तरक्रिया कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
अध्यक्ष विजुक्छेंले जाति र धर्मको आधारमा भारत पाकिस्तानमा विभाजित भएको एक वर्षमा रगतको खोलो बगेको उदाहरण दिँदै उहाँले साम्राज्यवादीहरुले नेपालमा पनि यस्तो अवस्था ल्याउन सक्ने भएकोले जनता सचेत हुँनु पर्ने बताउनु भयो । विजुक्छेंले हिन्द–प्रशान्त रणनीतिअन्तर्गत नै अमेरिकाले एमसीसी सम्झौता ल्याएको उल्लेख गर्दै नेपालको संसद्वाट एमसीसी सम्झौता पारित गरे नेपाल अमेरिकाको कठपुतली हुने बताउनुभयो ।
“संसदीय व्यवस्थामा सरकार बनाउने काम व्यवस्थापिका संसद्को भएको स्पष्ट हुँदाहुँदै सर्वोच्च अदालतले सरकार गठन गर्न सार्वभौमिकताको प्रतीक राष्ट्रपतिलाई आदेश दिनु गलत छ” उहाँले भन्नुभयो ।
साम्राज्यवादी र विस्तारवादी शक्तिहरुले एमसीसी सम्झौता पारित गराउन नै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रम बनाएको उल्लेख गर्दै उहाँले एमसीसी सम्झौता पारित गराउन क्रियाशील शासक दलका नेता कार्यकर्ताहरुविरुद्ध जनतालाई सचेत पार्नु जरुरी रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघका सहसंयोजक सुरेश परियारले विदेशी सहयोग र अनुदानले देश विकास हुनुभन्दा मगन्ते चरित्रको विकास हुनेतर्फ युवा–विद्यार्थी सचेत हुनु जरुरी छ भन्नुभयो ।
नेक्रायुसंघका अध्यक्ष मिनबहादुर बाटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेक्रायुसंघ काठमाडौंका विशोक डंगोल, नेक्रायुसंघ भजिसका रमेश वैद्य र गोपालसुन्दर गोसाईले पनि विश्वमा भइरहेको अमेरिकी हस्तक्षेपको विरोधमा बोल्नुभएको थियो ।