काठमाडौं । २४ घण्टाको अवधिमा सबैभन्दा बढी वर्षा डडेलधुरामा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर रेकर्ड भएका १९६ केन्द्रहरुमध्ये सबैभन्दा धेरै डडेलधुरामा वर्षा मापन भएको हो । २४ घण्टाको अवधिमा डडेलधुराको जोगबुढा केन्द्रमा सबैभन्दा धेरै १६८ दशमलव ८ मिलिमिटर वर्षा भएको छ ।
डडेलधुराकै गाइबन्डे केन्द्रमा १४७ दशमलव ६ मिलिमिटर र चौरबन्डाले केन्द्रमा १४४ दशमलव २ मिलिमिटर र डडेलधुराकै साहुखर्कमा १४१ दशमलव २ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ ।
यसैगरी डोटीको गैरामा १२० दशमलव २ मिलिमिटर, डडेलधुराको डडेलधुरा केन्द्रमा ११६ मिलिमिटर र कञ्चनपुरको महेन्द्रनगरमा ११५ दशमलव ५ मिलिमिटर वर्षा मापन भएको छ ।
विभागले आज बिहान ८:४५ बजे २२५ वटा वर्षा मापन केन्द्रहरु (मानव सन्चालितः ५३ र स्वचालित १७२) मा वर्षाको अनुमगन गरेको थियो । तीमध्ये १९६ वटा केन्द्रमा वर्षा रेकर्ड भएको छ ।
वर्षा मापन गरिएका केन्द्रहरु मध्ये १०८ वटा केन्द्रमा १० मिलिमिटर भन्दा बढी, ६८ वटा केन्द्रमा २५ मिलिमिटर भन्दा बढी, ३१ वटा केन्द्रमा ५० मिलिमिटर भन्दा बढी, ७ वटा केन्द्रमा १०० मिलिमिटर भन्दा बढी र एउटा केन्द्र (डडेलधुराको जोगबुढा)मा १५० मिलिमिटर भन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
लुम्बिनी र गण्डकीका अधिकांश क्षेत्रमा भारी वर्षा
अत्यधिक वर्षाका कारण भेरी, महाकाली, कर्णाली, पश्चिम राप्ती, नारायणी र गण्डकी नदीमा आएको बाढी खतराको तहसम्म पुगेको छ ।
अर्घाखाँची, प्युठान, बागलुङ लगायत लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा भारी वर्षा मापन भएको छ र थप वर्षा हुने पूर्वानुमान रहेकाले सो क्षेत्र भएर बहने नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।
हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका न्यूनचापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभाव नेपालमा परेको छ । त्यसैको कारण हाल देशको अधिकांश स्थानमा वर्षा भइरहेको छ । विशेषगरी पश्चिम क्षेत्रमा बढी वर्षा भएको छ ।