यमपञ्चक : बिहान ७:१४ सम्म काग र त्यसपछि कुकुर तिहार मनाइँदै, किन भयाे यस्ताे ?

0
1190

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो चीजवीज खान दिएर मनाइँदैछ । बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

आज बिहान ७ः१४ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी तिथि लाग्छ । बिहानै कागलाई पूजा गरी मीठा खानेकुरा खान दिने चलन छ । कागलाई विशेषगरी दही भात खुवाइन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौमतले बताए ।

कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो ।लाेक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गर्ने गरिन्छ ।

‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको हो ।

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने मङ्गलबार साँझदेखि नै सुरु भएको छ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने मङ्गलबारदेखि नै सुरु भएको छ । यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन शुरु हुने यमपञ्चक मङ्गलबार बेलुकीदेखि नै सुरु भएको समितिले जनाएको छ ।

यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ कागेश्वरी धाम, पशुपति क्षेत्रस्थित कागेश्वरी मन्दिर र हनुमानढोका दरबार क्षेत्रस्थित कागेश्वरी मन्दिर क्षेत्रमा पनि कागेश्वर महादेवको पूजा आराधना गरी मीठा मीठा खानेकुरा खुवाउनेको भीड लाग्छ ।

कागेश्वरी धाममा भने अष्टधातुको कागको मूर्ति बनाइएको छ । २५० केजीको यो कागेश्वरी मन्दिर नेपालकै ठूलो हो । यसको नजिकै लोकतान्त्रिक शहीद उद्यानस्थलमा एक हजार किलोको कागको मूर्ति निर्माण अन्तिम चरणमा पुगेको बागमती प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले जानकारी दिए ।

तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आजै इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ ।

वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ । कार्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने कात्तिक १८ गते बिहीबार बिहान मनाउनुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

सूर्योदयकालभन्दा अघि चतुर्दशी तिथि परेका दिन यो पर्व मनाइन्छ । बुधबार बिहान अरुणोदयकालभन्दा अघि चतुर्दशी तिथि नपरेकाले बिहीबार मनाउनुपर्ने निर्णय गरिएको समितिले जनाएको छ ।