स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’ कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म लगाउने भएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले दीर्घरोगीलाई लक्षित गरी कात्तिक २८ गतेदेखि खोप अभियान सञ्चालन गरिन थालेको जानकारी दिए । नेपाललाई अमेरिकाले एक लाख ६२० मात्रा फाइजर खोप उपलब्ध गराएको थियो ।
मन्त्रालयले दीर्घरोगी भएका १२ वर्ष उमेरदेखि माथिका व्यक्तिलाई फाइजर खोपको दुई मात्र दिइने जनाएको छ । खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको दीर्घ रोगको उपचार सम्बन्धी पूर्जा लिएर जान भनिएको छ । खोप मन्त्रालयले देशभरिका विभिन्न २४ वटा अस्पतालबाट लगाउने भएको छ ।
यी दीर्घरोगीले खोप लगाउन पाउँछन्
मन्त्रालयका अनुसार मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका, जनुसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका, फोक्सोसम्बन्धी रोग, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप, मधुमेह भई उपचार गराइरहेकालाई फाइजर खोप दिइने छ ।
फाइजर खोप २१ देखि २८ दिनको बीचमा दुई मात्रा लगाइसक्नुपर्ने हुन्छ । फाइजर खोपको दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।