मालेको महाधिवेशन पनि चितवनमै

0
1002

चितवन : नेकपा (माले)को आठौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ। महाधिवेशन कात्तिक २७ गतेदेखि २९ गतेसम्म नारायणगढस्थित नारायणी कला मन्दिरमा हुनेछ।

देशभरबाट ३ सय ५० जना प्रतिनिधि सहभागी हुने महाधिवेशनबाट ७५ सदस्यीय केन्द्रीय कमिटि, ११ जना स्थायी समिति सदस्य, २१ जना पोलिटब्युरो सदस्यहरु चयन हुनेछन्। त्यस्तै २० वटा विभागहरुको नेतृत्व पनि चयन गर्ने छ।  महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुको साथै स्थायी कमिटी, पोलिटव्युरो र विभिन्न विभागहरु गठन गरी घोषणा पत्र जारी गर्नेछ।

नारायणगढमा पत्रकार सम्मेलन गर्दै मूल आयोजक समिति संयोजक तथा स्थायी समिति सदस्य दिननाथ घिमिरेले तयारी बारे जानकारी गराए। ‘तीन दिनसम्म महाधिवेशन चल्छ। उद्घाटनपछिको दुई प्रतिवेदन माथि छलफल र नयाँ नेतृत्व चयन गरिने छ , ’ घिमिरेले भने,‘ पार्टीको आगामी कार्यदिशा सहितको घोषणा पत्र जारी हुनेछ। ’

नयाँ जनवाद, राजनितिक प्रतिवेदन, नेपाल चिन्तन, संगठनात्मक सिद्धान्त, संगठनात्मक प्रतिवेदन, कार्यनीति, आर्थिक प्रतिवेदन, राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रस्ताव र पार्टी विधान संशोधनलगायतका दस्तावेजमाथि समूहगत छलफल हुनेछ। तीन दिनसम्म चल्ने महाधिवेशनको पार्टीका महासचिव सीपी मैनालीले समुद्घाटन गर्नेछन्।

यस्तै महाधिवेशनमा राजनीतिक, पार्टी विधान, नेपाल चिन्तनलगायतका ८ वटा प्रतिवेदनमा छलफल हुनेछ।  महाविधेशनको तयारी अन्तिम चरणमा पुगेको पोलिटव्युरो सदस्य एवं महाधिवेशन मुल आयोजक समितिका सहसंयोजक भगवती घिमिरेले बताइन्। ‘हामी महाधिवेशनको अन्तिम तयारीमा छौं, ’ उनले भनिन्, ‘यसलाई सफल बनाउन सबै संयन्त्र परिचालन गरेका छौं। ’