मलाई दसैँ तिहार मनाउन सारै मनपर्थ्याे । सानाे छँदा धेरै दिन स्कुल छुट्टी पाइने स्वार्थले दसैँ रमाइलो लाग्थ्यो । खास रमाइलो तिहारमा लाग्थ्याे ।
हुन त तिहार सबैलाई रमाइलै लाग्ला । तर, मलाईचाहीँ असाध्यै मन पर्थ्याे । तिहारसँग अलि बेसी नै लगाव थियाे मेराे । गीत, फूल, रंग, बत्ती, झिलिमिली अनि तिहारसँग जोडिएर आउने सबै गजब लाग्ने । तिहार आउन लाग्यो भन्ने कुरा समेतले पनि म रमाउने गर्थेँ । अक्सर मेरो तिहार १० दिन अघिबाटै सुरु हुन्थ्याे, जब साथीहरूसँग देउसीभैलाेका लागि नाच रिहर्सल गर्न थालिन्थ्याे । तिहारको रमझमले छोप्न दसैँ सकिए पुग्थ्याे ।
मेरो घरमा ‘पुन्टे’ थियो । त्यही कुकुर नै मेरो साथी । रंगोली बनाउन मलाई सानैबाट मन पर्ने । जानी-नजानी केके रंग भरेर बनाउँथे । हजुरआमाले माला गाँस्नुहुन्थ्यो । उहाँलाई चाहिने फूल अरूले टिप्देको पटकै मन पर्दैन थियो । त्यसैले म आफैँ फूल टिप्थेँ । ती फूलहरूमा आमालेबाहेक मैले पनि पानी हालेको हुन्थेँ । त्यही सम्झेर मायाले टिप्थेँ । आमाले भान्सामा गरेको तयारीले छुट्टै उमङ्ग ल्याउँथ्यो । म दुई जना दाईहरूकाे एक्ली बहिनी तिहारमा अझ खास माया पाउने । त्यसैले पनि विशेष थियाे, तिहार मेरा लागि ।
त्याे बेला म १३ वर्षकी थिएँ । कक्षा ७ मा पढ्थेँ । लक्ष्मी पूजाको दिन थियो । त्यस वर्ष पनि हरेक तिहारजस्तै म उत्साहित थिएँ । बिहानै उठेर रमाइलो मान्दै, नाच्दै बाथरूम पसेँ एक्कासि म झस्किएँ । मनमा अनेक प्रश्नहरू खेल्न थाले । कुनै फिल्ममा देखाएका दृश्य झलझली सम्झिएँ । त्रसित भएँ । त्यो त्रास मेरै शरीरबाट आएको रगतले उत्पन्न गराएकाे थियो ।
पहिलोपटक महिनावारी भएर होला, डराउँदै आमालाई सुनाएँ । आफूले जान्ने भएदेखि यस्तै कुरा झेल्दै आएकी मेरी आमा मभन्दा अझ धेरै डराउनु भयो । पछि थाहा पाएँ, उहाँ मलाई १५ दिन कहाँ लुकाउने भन्ने कुराले चिन्तित हुनुहुन्थ्याे । किनकि, म नछुने भएकी रहेछु । कारण, मेरो महिनावारी भएको रहेछ ।
आमाले मलाई आफ्नै घरको स्टोर कोठामा बस्ने व्यवस्था मिलाउनुभयो । त्यहाँ लगेर एकछिन बस्न भन्नुभयो । ‘डराउन पर्दैन, मिन्स भएको हो । महिनाको चार दिन यस्तै हुन्छ । अलिअलि दुख्छ, केही हुन्न’, उहाँले सम्झाउनुभयाे । आमाको कुराले थोरै डर कम भयाे । ‘पहिलोपटक नछुने हुँदा यसरी छुट्टै नदेखिने गरी बस्नुपर्छ’ आमाको यो कुराले भने म स्तब्ध भएँ ।
‘मैले तिहार नमनाउनु ?’ आँखाभरि आँसु थिए मेरा । मैले प्रश्न गरेँ । तर, त्याे वर्ष मैले मेरो मनपर्ने चाड मनाउन पाइनँ । कारण, १५ दिन मेरो लागि त्यही स्टोरको ढोका मात्रै खुल्ला थियो ।
छिनछिनमा आमा त आउनुहुन्थ्यो । तर, तिहारको भ्याइनभ्याइले पर्याप्त समय भने दिनसक्नु हुन्न थियाे । स्टोरमा एक्लै बस्दा बेलाबेला पुन्टेको आवाज पनि सुन्थेँ । शायद, पुन्टे पनि प्रायजसो सँगै रहने साथी कता गई भनेर खोज्दै थियो होला । त्यही दिन बिहान कुकुर पूजा थियो । मैले पूजा गर्न पाइनँ । सोचेँ, हजुरआमाले माला गाँसेर सक्नुभयो होला । आमाको तयारी पनि सकियो होला । मैले गरेको तयारी भने अधुरै रह्यो ।
म कमजोर महसुस गरिरहेकी थिएँ । मेरो शरीर कम, मन धेरै दुखेको थियो । दिनभरि स्टोर कोठामा एक्लै बसेँ । अनेकौँ प्रश्न मनमा उब्जिए, जुन प्रश्नकाे जवाफ ममलाई कतैबाट मिल्नेवाला थिएन ।
साँझ ढल्किँदै थियो । बाहिरको रमझम भित्रै महसुस गरेँ । बाहिर सबैतिर झिलिमिली देखिन्थ्यो । अँध्यारो त केबल त्यो कोठा अनि मेरो मन मात्रै ।
छटपटीको सीमा थिएन । लाग्थ्यो, साथीहरूले भैली खेल्नलाई मेरो बाटो पर्खिए होलान् । मलाई पनि जान मन थियो । घरमा पनि देउसीभैलो खेल्नका लागि कति धेरै मान्छे आए, तर हेर्नसम्म पनि पाइनँ । म यसैगरी अलमलिँदाअलमलिँदै आमाले लक्ष्मीपूजा पनि सक्नुभयो ।
वर्षैपिच्छे चाडबाड आउँछन्, अर्काे वर्षको तिहार त मनाउन पाइ हाल्छु नि, मैले पनि मन बुझाएँ । तर, त्यस वर्षपछि भने मलाई तिहारको रमझमले खासै छोएन । चाडबाडको १० दिन अघिदेखि रमाउने म त्यस दिनपछि कुनै चाडवाड नजिकिनुअघि नै कतै नछुने पो हुने हुँ की भनेर डराउँछु ।
‘कतिपय पीडा आनन्ददायी कुरा आमाले मलाई सम्झाउँदै भन्नुहुनथ्याे । त्यसबेला त खासै मैले आमाको कुरा बुझिनँ । तर पछि थाहा भयो, म आमा बन्न योग्य भएकोमा आमाले खुसी हुन भन्नुभएको रहेछ । महिनावारी सुरु भयो, अब पूर्ण नारी भयौ भनेर हजुरआमाले पनि सुनाउनु भएको थियो ।
त्यसदिन चाडबाडको माहोलमा म एक्लिएँ । नारी भएछु तर म मानिस नै होइन र ? भन्ने प्रश्न मनमा उठ्याे । मैले मेरो प्रश्न त्यो समय आफैँसँग राखेँ ।
तिमी एक्ली हुँदा, दुखी हुँदा मलाई सम्झनु भन्नुहुन्थ्यो, बाबा । साँच्चै एक्लोपन के हो मैले त्यस दिन मात्र बुझेकी थिएँ । तर, पर सरेकी भएर बाबाले मलाई हेर्न पनि आउनुभएन । आमाले भने मलाई स्टोरमै सेलरोटी ल्याइदिनु भयो । मुख मीठो पार्न आमाले ल्याइदिनुभएको सेलले मेरो मन मीठो बनाउन सकेन ।
भाइटीकाको दिन पनि यसैगरी बिताएँ । मेरा दाईहरू, जसलाई सानो घाउ मात्रै हुँदासमेत दाैडँदै गएर आफ्ना कुरा सुनाउँथे । उनीहरू पनि सँगै थिएनन् । ‘तिहारमा त यसको गिफ्ट किन्दा अलिअलि भएको पैसा पनि सकिन्छ’ दाईहरू जिस्काउँथे । तर, त्यो तिहारभर त्यसरी जिस्काउने साथीसमेत भएनन् ।
महिनावारी सुरु हुँदा मलाई यसबारे त्यति धेरै थाहा थिएन । त्यसमाथि महिनावारीले महिलालाई सबै थोकमा प्रतिबन्ध लगाउने रहेछ भनेर पनि त्यहीबेला थाहा पाएँ ।
त्यसदिन रातो देखेर डराएकी मलाई महिनावारीदेखि अझै डर लाग्छ । रातो रगतप्रतिको डरले मेरो मनमा रातो रङप्रति नै वितृष्णा जगाइदियो । त्यही दिनदेखि त हाे मलाई रातो मन पर्न छाेडेकाे छ । म यो राताेलाई केवल रङ मान्दिनँ । मलाई नछुने ठान्ने सोच, मलाई बन्द कोठामा लागेर थुनिदिएको कुप्रथा, मजस्ता लाखौँ किशोरीमाथि भइरहेकाे हिंसा मान्छु । त्यसैले मलाई रातो मन पर्दैन । – प्रबिना पौडेल (सिलापत्रबाट)