प्रदेश सभा निर्वाचन क्षेत्रमा अधिवेशन भोलि : कोको हुन्छन् मतदाता ?

0
1110

काठमाडौँ। नेपाली काँग्रेसले १४औँ महाधिवेशन अन्तर्गत भोलि शुक्रवार ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न हुँदै छ।

प्रदेश सभा निर्वाचनमा सो क्षेत्र भित्रका गाउँ/नगर/उपमहानगर/महानगरपालिका वडा अधिवेशनबाट निर्वाचित प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, प्रदेश सभा निर्वाचन क्षेत्र भित्रका गाउँ/नगर/उपमहानगर/महानगरपालिकाका कार्य समितिका सभापति र वडा कार्य समितिका सभापति मतदाता हुनेछन् ।

यसैगरी सो क्षेत्रभित्र रहेका पार्टी केन्द्रीय कार्यसमितिका वर्तमान एवम् पूर्व पदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय सभापति, सङ्घीय सांसदका सदस्य र उम्मेदवार, प्रदेशसभाका सदस्य र उम्मेदवार एक अवधिका लागि क्षेत्रीय अधिवेशनको प्रतिनिधि हुने व्यवस्था काँग्रेसको विधानमा छ।

विधान अनुसार प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापतिले प्रदेशसभा क्षेत्रीय अधिवेशनको सभापतित्व गर्नेछ।  यस्तै गाउँ/नगर/उपमहानगर/महानगर अधिवेशनबाट निर्वाचित अपाङ्गता भएका प्रदेशसभा क्षेत्रीय अधिवेशन प्रतिनिधि पनि हुनेछन्। प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट प्रदेश अधिवेशन प्रतिनिधिको निर्वाचन हुनेछ।

काँग्रेसले प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशनपछि प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन ६ मङ्सिर र एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन १० मङ्सिरका लागि तय गरेको छ।

यसै गरी सातै प्रदेशमा प्रदेश अधिवेशन १६ र १७ मङ्सिरमा हुने निर्वाचन समितिले जनाएको छ। काँग्रेसको केन्द्रीय महाधिवेशन २४, २५ र २६ मङ्सिरमा काठमाडौँमा हुँदै छ।