भक्तपुर । आज भक्तपुरका घरघरमा उसिनेको पिडालु खाएर पिडालुको पर्व मनाइदै छ। स्थानीय नेपाल भाषामा यसलाई सकी मानेगू पुन्ही (पिडालु उसिनेर खाने पर्व) भनिन्छ। नेपाल भाषामा सकीको अर्थ पिडालु र मानाको अर्थ उसिन्नु हो। यस अर्थमा सकी मना पुन्हीको अर्थ पिडालु उसिनेर खानु हो। प्रत्येक वर्ष कातिक शुक्ल पूर्णिमाका दिन यो पर्व घरघरमा पिडालु उसिनेर खाई मनाउने परम्परा छ।
पर्वको विशेष आकर्षण पिडालु उसिनेर खानु नै हो। पर्वको क्रममा घरघरमा पिडालु उसिनेर खाने चलन यद्यपि छ। पर्वको क्रममा विशेष गरी नेवार समुदायका परिवार घरघरमा पिडालु उसिनेर खाने गर्दछन्। यो क्रममा उनीहरु मकै, भटमास, बदामलगायतका गेडागुडी पनि भुटेर खाने गर्छन्। साथै सखरखण्ड, तरुल पनि पकाएर खाने गर्दछन्।
कुनै समय यहाँंका किसानका घरघरमा पिडालु पाइन्थ्यो। पर्व मनाउनकै लागि खेतमा कहीकतै अलिकति मात्रै भए पनि किसान परिवारले पिडालु रोप्ने गर्दथे तर अहिले पर्वका लागि धेरैले पिडालु खरिद गर्नुपरेको छ। पर्वका लागि पसलबाट पिडालु खरिद गर्नेको विशेष भीड यहाँंका बजारमा लागेको थियो । माग अत्याधिक रहेको भन्दै पसलमा पिडालको मूल्य अनियन्त्रित भए पनि खरिद गर्नेेको संख्या उतिकै देखिएको थियो।
पर्वको क्रममा विहानदेखि ठाउठाउका महादेव, नारायण मन्दिरहरुमा विशेष मेला पनि लाग्ने गर्दछ। यस क्रममा दिनभर जिल्लाको चागुनारायण मन्दिर, कमलविनायकस्थित यातु गणेश, काभ्रे र भक्तपुरको सिमानास्थित आशापुर महादेव, गुण्डुको अनन्तलिंगेश्वर, सिपाडोलको डोलेश्वरलगायतका मन्दिरमा विशेष मेला लागेको थियो।
यस दिन भक्तपुर नगरका ठाउँंठाउँंमा भुटेको मकै, भटमास, बदामलगायतका खाद्यान्नबाट भुइमा विशेष प्रकारको पाचतल्ले मन्दिर आकारका चित्र बनाइने चलन छ। साथै यातु गणेशमा पनि यसैगरी भुटेको मकै, भटमासबाट भुइमा यातु महोदेव बनाइने चलन छ।
पर्वको अर्काे विषेश आकर्षण भजन गाउनु हो । यस क्रममा ठाउठाउका पाटीमा समूह समुह मिलेर विभिन्न बाद्यबादनका साथ बाजागाजासहित भजन गाइन्छ। विशेष गरी बुढापाकाहरु ठाउठाउका पाटीमा बसेर भजनमा रमाउँंछन्। पर्वका क्रममा महिलाहरु ब्रत पनि बस्ने चलन छ।