मलामी

0
791
“मलामी “
आज,
फेरि मलामी जानका लागि
यी पाइलाहरु चल्दै छन् !
तर,
तर,आज मलामी म
मेरा आफन्तको होइन
महोदय,
सरकारको जादैछु !
हो, महोदय
मेरो सरकारको पुन एकपल्ट
मृत्यु भएको छ।
पटक पटक मेरो सरकारको मृत्यु हुँदै छ
अनि,
म पटकै पिच्छे मलामी जानका
लागि आफ्ना पाइलाहरु चाल्दै छु ।
हिजो,
तिम्रा ती सभामा रहेको घुइचो त सबैले देखे
तर,
मेरो बिरामी आफन्त बोकेको
एम्बुलेन्सले बाटो नपाएको कसैले देखेनन ।
हो, त्यो दिन
मेरा आश भरोसा संगै
सरकार,
तिम्रो पनि मृत्यु भएको थियो ।
आज,
अस्पतालको शैयामा पल्टिरहेको मेरा
आफन्तीको शुल्क तिर्न नसक्दा
आत्महत्याको बाटो रोज्न बाध्य भएका छन् !
हो,
सरकार, फेरि पनि एउटा बिरामी संगै
तिम्रो पनि मृत्युको खबर छापिएको छ ।
आज,
महँगीले आकाश चुम्दै गर्दा
मेरा सन्तानले भोकै कति रात
अनि
कति कठोर दिनहरु काट्न
बाध्य भैरहेका छन् !
हो ,
महोदय,
पुन: यस पल्ट पनि
मेरो सरकारको मृत्यु भएको छ
अनि म
फेरि मलामी जानका लागि तयार हुँदै छु ।
हिजो,
मेरो चेलि बलत्कृत भई
लास बनेर फर्किएकी उसको
न्यायको खोजिमा भौतारिएको म
अझै पनि
न्याय पाउने झिनो आशा बोक्दै
तिम्रै सहर बजार डुल्दै छु
तर,
अझै न्याय नपाउदा तिम्रो
मृत्युुको आभाष गर्दै छु म!
हो,
सरकार,
मेरो छोरी संग संगै म
तिम्रो मलामीमा सहभागी भईरहेको थिए।
पटक पटकको तिम्रो मृत्यु
अनि,
पटकै पिच्छेको तिम्रो मलामी
जादा जाँदै
मेरा यी खुट्टाका पैताला फुट्न थालेका छन् ।
मेरा ती हिम्मत अनि साहस पनि
तिम्रो मलामी जाँदै गर्दा रित्तिदै गैरहेका छन् ।
पशुपतिको आर्यघाटमा
जब
मेरा आफन्तिको लास जल्दै थिए-
तब
तिम्रा पनि दाहसंस्कार गर्दै थिए म!
एक पल्ट होइन सरकार
कैयौं पटक म तिम्रो मलामी गएको थिए!
म जस्तै कैयौं अरु पनि
तिम्रा मलामी जाँदै थाकिसकेका छन् ।
हो ,
सरकार
थाकिसकेका छन् ती पाइलाहरु।
-खुलिमुली
(२०७८/0८/१५)