राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आइतबारदेखि बाघ गणना (सर्वेक्षण) सुरु गरेको छ । आइतबार चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहामा एक विशेष कार्यक्रम गर्दै वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले बाघ गणनाको उद्घाटन गरेका हुन् ।
मन्त्री यादवले बाघ गणनाको लागि राखिएको क्यामाराको स्वीच अन गरेर ‘बाघ सर्वेक्षण २०२२’ को उद्घाटन गरे । सो कार्यक्रममा बोल्दै उनले २०२२ सम्ममा बाघको संख्या दोब्बर गर्ने लक्ष्य हासिल हुने विश्वास व्यक्त गरे ।
नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष सन् २०१० मा रसियाको सेन्टपिटर्सवर्गमा भएको बाघ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सन् २०२२ सम्म बाघको संख्या दोब्बर पुर्याउने लक्ष्य लिएको थियो ।
बाघ सर्वेक्षणमा क्यामेरा ट्रयाप, सन्टो कम्पास, रेञ्ज फाईन्डर, जीपीएस, रेकर्ड फर्मलगायतका सामग्रीको प्रयोग गरी क्यामरा ट्रयाक्ङिग विधि र अकुपेन्सी सर्भे विधिबाट बाघको गणना गरिने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) हरिभद्र आर्चायले जानकारी दिए ।
नेपालमा बाघ रहेका राष्ट्रिय वन क्षेत्र, जैविक मार्ग तथा वरपरको वन क्षेत्रलाई विभिन्न कम्पलेक्समा विभाजन गरी गणना थालिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी वेदकुमार ढकालले जानकारी दिए ।
चितवन–पर्सा कम्प्लेक्स, बाँके–बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा–लालझाडी क्षेत्र गरी तीनवटा कम्प्लेक्सहरूमा विभाजन गरिएको ढकालले बताए । बाघ सर्वेक्षण गर्दा चितवन–पर्सा कम्प्लेक्सलाई तीनवटा ब्लकमा, बाँके बर्दिया कम्प्लेक्सलाई चारवटा ब्लकमा र शुक्लाफाँटा–लालाझाडी कम्प्लेक्सलाई एउटा ब्लकमा विभाजन गरिएको छ ।
ढकालका अनुसार ब्लकहरूलाई २ कि.मि लम्बाई तथा २ कि.मि चौडाई भएका ग्रीडहरूमा विभाजन गरिएको छ । चितवन पर्सा, बाँके बर्दिया र शुक्लाफाँटा– लालझाडी कम्प्लेक्समा क्रमशः ८९५, ८१४ र २६० वटा ग्रिडहरू रहेका छन् । चितवन पर्सा कम्प्लेक्सको पहिलो दोस्रो तथा तेस्रो ब्लकमा क्रमशः २८७, ३१० र २९८ वटा ग्रीडहरू रहेका छन् । प्रत्येक सिडभित्रमा बाघले प्रयोग गर्ने क्षेत्रहरू हेरी एक जोडी स्वचालित क्यामेराहरू जडान गरिने छ । बाघ गणनामा करिब एकहजार क्यामारा प्रयोग हुने ढकालले बताए ।
बाघ सर्वेक्षण कार्यमा चितवन तथा पर्सा राष्ट्रिय निकुञ्जका प्राविधिक कर्मचारी, डिभिजन वन कार्यालयका कर्मचारीहरू, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक, वन्यजन्तु विज्ञ, नेपाली सेना, मध्यवर्ती क्षेत्र तथा स्थानीय समुदाय, संरक्षण सहयोगी संस्थाका कर्मचारी एवं स्वयंसेवकहरू समेतको सहभागीता छ ।
बाघ सर्वेक्षणको क्रममा चितवन पर्सा कम्प्लेक्समा ७, बाँके बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा क्षेत्रमा ३ वटाका दरले हात्तीहरू प्रयोग हुनेछन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेल चितवन पर्सा कम्प्लेक्समा हुने १०६ जना प्राविधिकहरू परिचालित हुने जानकारी दिए । प्राविधिकहरूलाई यही मंसिर १७ र १८ गते चितवन राष्ट्रिय निकुञ्जको सौराहामा प्रयोगात्मक अभ्यास सहितको तालिम दिइएको छ । बाँके बर्दिया कम्प्लेक्समा छुट्टै तालिमको आयोजना हुनेछ । तालिमप्राप्त प्राविधिकहरू फिल्डमा परिचालित भइसकेका छन् ।-शिलापत्रबाट