भक्तपुर । नेपाल मजदुर किसान पार्टीको ३२ औँ केन्द्रीय परिषद् शुक्रबार सुरू भएको छ । अध्यक्ष रोहितले समाजको व्यापक क्षेत्रमा आमूल परिवर्तनकारी कामदार जनताले नयाँ पुस्ता तयार नगरेसम्म समाजमा क्रान्ति नहुने विचार राख्दै आजैदेखि त्यस कार्यमा लाग्नु आवश्यक भएको धारणा राख्नुभयो ।
उहाँले सन् १९१७ को क्रान्तिभन्दा अगाडि रूसी बोल्सेभिक पार्टीले काम गरेको तरिकाबारे स्पष्ट पार्दै नेतृत्वदायी पार्टी कार्यकताको एक गुप्त समूह आवश्यक हुने बताउनुभयो । उहाँले बोल्सेभिक पार्टीलाई उद्धृत गर्दै भन्नुभयो, “गुप्त समूहमा पेशेवर कार्यकर्ता हुन्छन् । तिनीहरूसँग निम्नत्तम सैद्धान्तिक ज्ञान हुनुपर्छ, राजनीतिक अनुभव, सङ्गठनात्मक व्यवहार, सरकारका प्रहरीसँग वा शत्रुसँग सङ्घर्ष गर्ने बल भएको र तिनीहरूलाई छल्ने र छकाउन जानेको हुनुपर्छ ।”
अध्यक्ष रोहितले शान्तिपूर्ण ढङ्गले पुँजीपतिहरूको सम्पत्तिलाई जनताको सम्पत्तिमा फेर्न र पुँजीको शक्तिमाथि विजय पाउन असम्भव हुन्छ भन्दै सर्वहारा वर्गको हुकुम कायम गरेर शोषकहरूको अस्तित्वलाई ध्वस्त पारेरमात्र एक नयाँ वर्गविहीन साम्यवादी समाज स्थापना गर्नसक्ने उल्लेख गर्नुभयो । जालसाजी नगरी आफ्नै मेहनतले कमाएको सम्पत्ति क्रान्तिपछि पनि व्यक्तिकै हुने भन्दै अध्यक्ष रोहितले पुँजीवादी राजनीतिक दलहरूको नाम प्रजातान्त्रिक, समाजवादी वा साम्यवादी भए पनि तिनीहरूको सिद्धान्त, आदर्श, नीति र व्यवहार पुँजीपति वर्गकै हितमा हुने उल्लेख गर्नुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “पुँजीवादी व्यवस्थामा पुँजीवादी राजनीतिक दलहरूकै प्रतिनिधिहरू नै संसद्मा पुग्छन् र शासन गर्ने मन्त्रिमण्डलले प्रधानमन्त्रीको नेतृत्वमा पुँजीपति वर्ग, कालाबजारिया, ठेकेदार, गिटी–बालुवाका व्यापारी, घरजग्गाका व्यवसायी, गुन्डा, डन र माफिया तथा सबै प्रकारका तस्करहरूको हितमा काम गर्छन् ।”
उहाँले स्पष्ट निर्देशन गर्नुभयो, “निःस्वार्थ नै निडर हुन्छ । जनतालाई दुःख भएको बेला कम्युनिस्टहरूले बोलेको हुनुपर्छ । पुँजीवादी सरकारमा गएका पार्टीहरूको नाममा समाजवादी राखिए पनि उनीहरू जनताका पार्टी होइनन् । कम्युनिस्टहरूले परिवार होइन समाज र देशको हित हेर्नु जरूरी छ ।”
शुक्रबारको परिषद्मा जुम्ला, दैलेख, कालीकोट, अछाम, सुर्खेत, कैलाली, रूपन्देही, चितवन, काभ्रेपलाञ्चोक, रौतहट, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, बाँके, ललितपुर, काठमाडौँ, मोरङ जिल्ला समितिको प्रतिवेदन पेश भयो ।