यःमरी पुन्ही मनाउँदैं नेवार समूदाय

0
103

धान्य पूर्णिमाको अवसरमा आज काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समूदायले धुमधामका साथ ‘यःमरी पुन्ही’ पर्व मनाउँदैं छन । चामलको पिठोको रोटीभित्र विशेषगरी चाकु राखेर बनाएको विशेष प्रकारको रोटीलाई यःमरी भनिन्छ । सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समूदायले यःमरी पुन्हीको रुपमा मनाउने गरेको हो । ज्यापु समुदायले आजको दिनलाई ज्यापु दिवसको रुपमा समेत मनाउँदै आएको छ ।

यमरीको महत्व
नेवार समुदायमा यःमरीको विशेष महत्व रहेको छ । विशेषगरी जन्मदिन लगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवान मध्ये एक हो । यःमरी मठ मन्दिर, मानिसको जोडा जन्मदिनको कर्म(जस्तो दुई वर्ष, चार वर्षको जन्मदिनको अवसर)मा नभई नहुने पकवान भएको ईतिहास तथा संस्कृतिविज्ञ पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।
यःमरीलाई कुवेर र गणेशका प्रतिकको रुपमा लिइन्छ । पूर्णिमाका दिन यःमरीलाई धान लगायत अन्नका भकारीमा चढाईन्छ । यसदिन नेवार समुदायले यःमरीको कुवेर, गणेश, लक्ष्मी, ज्यापु ज्यापुनी, ख्याः, महादेव, पार्वती लगायतको मुर्ती बनाएर आफ्ना अन्नका भकारी र धुकु कोठा (ढुकुटी), भण्डार कोठामा चढाएर मात्र आफुले खाने चलन रहेको ईतिहास तथा संस्कृतिविज्ञ श्रेष्ठले बताउनुभयो । यसरी चढाएको यःमरी चारदिन पछि मात्र प्रसादको रुपमा बाँडेर खाने प्रचलन छ । यःमरीलाई भगवती अन्नपूर्ण देवीको प्रतिकको रुपमा पनि लिईन्छ । अन्नका भकारीमा यमरी चढाउँदा अन्न बृद्धि हुने र त्यसको प्रभावले घर अन्नले भरिपूर्ण हुने तथा धनलाभ हुने जनविश्वास रही आएको छ ।


यःमरी बनाउने तरिका
यमरी नयाँ धानको चामलको पिठोबाट बनाईन्छ । यसको लागि ताईचिन चामल अझ राम्रो हुन्छ । चामलको पीठोमा तातो पानी राख्दै मुछ्दै जानुपर्छ । पिठो मुछेर तयार भएपछि सानो सानो डल्लो बनाई एक भागलाई मन्दिरको गजुर जस्तै चुच्चो बनाईन्छ भने अर्को भागमा औंलाको सहायताले खाल्डो बनाईन्छ । त्यही खाल्डोमा चाकु राखेर पिठोले नै टालिन्छ । चाकुलाई हल्का दुधमा उमालेर नरिवल र टिलको धुरो राखेर तयार गर्दा अझ स्वादिलो हुन्छ । आजभोली चाकुसँगै खुवा, मासु, गुँदपाक, मास, मुँगी लगायत सामाग्री राख्ने प्रचलन पनि रहेको छ।
यसरी बनाएको यःमरी बाफले मात्रै पकाइन्छ । चामलको पिठोबाट बनाई बाफले मात्रै पकाईने भएकाले यःमरी स्वादिलो र स्वास्थ्यका हिसाबले पनि उपयुक्त मानिन्छ ।
यःमरी भाका गाउँदैं यःमरी माग्ने प्रचलन
यःमरी पुन्हीको दिन नेवार समुदायले आफ्ना गाँउ, टोल छिमेकमा यःमरी भाका गाउँदै यमरी माग्ने चलन रहेको छ । तिहारमा देउसी भैलो खेले जस्तै यसदिन नेवार समूदाय टोल छिमेकमा यमरी भाका गाउँदैं यमरीसँगै सामाजिक कार्यका लागि आर्थिक संकलन गर्ने प्रचलन रहेको छ ।
त्यः सिं त्यः बकसिं त्यः
थाबले यागु यःमरी छग ति यः
व्यूम्ह ल्यासे मव्यूम्ह सितिकुती
न्यग व्यूसा काय् वुई छग व्यूसा म्याय् वुई
तालापाता कुलिचां जुसें त्यः
यःमरी माकु, उकि दुने चाकु
व्यूम्ह ल्यासेचा, मव्यूम्ह बुरीचा
कुरी कुरी………….
यःमरी पूर्णिमाको साँझ नेवार समुदायको घर आँगनमा गुन्जिने यो मिठासपूर्ण लोकभाका भने अचेल भक्तपुरमा गुन्जिन छाडेको छ । मौलिक लोक संस्कृतिलाई आधुनिकताले छोपेसँगैं यःमरी माग्ने चलन बिस्तारै लोप हुन थालेको छ ।
यःमरी माग्ने प्रचलन धान्य पूर्णिमाको एक महत्वपुर्ण सांस्कृतिक पाटो भएको संस्कृतिविदहरुको भनाई रहेको छ । ईतिहास तथा संस्कृतिविद् श्रेष्ठका अनुसार लिच्छवीकालिन समयदेखि नै यःमरी माग्ने प्रचलन चल्दै आइरहेको हो । उहाँले अंशुबर्माको पालादेखी नै यो चलन चलेको बंशावलीमा उल्लेख भएको पाईएको जानकारी दिनुभयो । आधुनिकतासँगै स्थानीय कला संस्कृति लोप हुनेक्रममा यःमरी माग्ने प्रचलन पनि लोपन्मुख अवस्थामा पुगेको उहाँको भनाई रहेको छ ।
यस सँस्कृतिलाई संरक्षण गर्न मातृभाषाको शिक्षा र सँस्कृति नयाँ पुस्तालाई दिनुपर्ने खाँचो रहेको अर्का संस्कृतिविज्ञ ओम धौवडेलले बताउनुभयो ।


धार्मिक र लोक कथन
यमरी पुर्णिमाको बारेमा ऐतिहासिक कथन अनुसार तत्कालिन पांचाल देशमा भगवान् विष्णुका परमभक्त, दानी र धर्मात्मा सुचन्द्र दम्पती बस्दथे । उनीहरुको दयालु स्वभावको जाँच गर्न एकदिन धनपती कुवेर गरिव ब्राहम्णको भेषमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगे । सुचन्द्रका श्रीमतीले ब्राहम्णरुपी कुवेरलाई श्रदापुर्वक आफुले तयार पारी राखेको यःमरी खुवाए ।
उनको सत्कार देखी प्रशन्न भई कुबेरले आफ्नो असली रुप देखाई यमरीको गुण र धानको भकारीमा श्री गणेश, कुबेर, लक्ष्मीको पुजा गरी यमरी चढाउने विधि बताएर गए । सोही अनुरुप सुचन्द्र दम्पतीले यमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादको रुपमा बाँडेर खाएकाले उनीहरुको धनसम्पती अझ वृद्धि भएको खबर जताततै फैलिएपछि त्यहीसमय देखि नेवार समुदायमा यमरी पूर्णिमाको सँस्कृति विकास भएको जनश्रुती रहेको पाईन्छ ।-लक्ष्मी गारु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here