छालिङ्गमा सावुन बनाउने तालिम सम्पन्न

0
1330

भक्तपुर । चाँगुनारायण नगरपालिकाले महिलाहरुलाई सावुन बनाउने तालिम दिएको छ । स्थानीयलाई आयआर्जन र उद्यमशिल बनाउने उद्देश्यले संचालन गरिएको तालिममा १६ जनाको सहभागिता थियो । तालिम पश्चात स्थानीयस्तरमा स्वरोजगार, आयआर्जन उद्यमशिलको कार्यमा बृद्धि हुने विश्वास लिइएको छ ।

तालिमको समापन सत्रमा बोल्दै सहभागीहरुको तर्फबाट नग कुमारी खड्काले आयोजकहरुलाई धन्यवाद दिए । तालिमका सहभागीहरुले साबुन बनाउने सीप आफूहरुका निम्ति ज्यादै लाभदायी हुने बताए ।

समापन सत्रमा चाँगुनारायण नगगरपालिकाका शाखाअधिकृत सन्तोषी नेपालीले आफ्नो सिपको सहि उपयोग गर्न सकेमात्र तालिमको अर्थ रहने भएकोले सबैले एकल या सामुहिक भए पनि काम गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा प्रशिक्षक राम बहादुर श्रेष्ठले तालिममा हासिल गरिएका सीपलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीलाई आह्वान गरे ।

चाँगुनारायण नगरपालिका वडा नम्बर ५ का वडा सदस्य राधिका बाटाले सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै सहभागीहरुलाई व्यवसाय सुरु गर्न शुभकामना समेत दिनु भएको छ ।

यस तालिममा सहभागीहरुले लुगाधुने साबुन तथा झोल साबुन, भाडामाझने साबुन,नुहाउने साबुन, फिर्नेल,हार्बिक बनाउने सीप सिकेका छन् ।

समापन कार्यक्रममा श्री देवी स्थान जागृति महिला साकोसका अध्यक्ष निर्मला केसी, सदस्य जमुना अधिकारी त्यातल र सहजकर्ता गीता कुमारी कोइरालाले समेत प्रशिक्षार्थीहरुलाई शुभकामना व्यक्त गरेको छ । सहभागीहरुले बनाएको आफ्नो उत्पादन अतिथिहरुलाई मायाको चिनो सहित सावुन हस्तान्तरण गरको हो ।