भक्तपुरमा चार दिन वृहत पुस्तक प्रदर्शनी हुने

0
991

भक्तपुर । भक्तपुरमा वृहत पुृस्तक प्रदर्शनी हुने भएको छ । उक्त पुस्तक प्रदर्शनी स्थानीय युवाहरुको सक्रियतामा गठित आरम्भ नेपालले गर्न लागेको हो ।

आरम्भ नेपालको आयोजनामा हुने पुस्तक प्रदर्शनीलाई यो बर्ष देखि आरम्भ पुस्तक प्रदर्शनी भनिएको छ । आरम्भ नेपालको यो दोस्रो पुस्तक प्रदर्शनी हो । यो बर्ष आगामी माघ ५( ८ दिन सम्म चार दिन सम्म पुस्तक प्रदर्शनी हुने छ ।

अध्ययन संस्कृतिको विकास गराउनका लागि गर्न लागेको पुस्तक प्रदर्शनीसंँगै हरेक दिन साहित्यिक कार्यक्रम पनि हुनेछ। प्रदर्शनीको पहिलो दिन माघ ५ गते प्रदर्शनीको उद्घाटनसँगै विगत चार चारदशक देखि कार्टुन लेख्दै आएका भक्तपुरका काटुनिष्ट दामोदर सुवालको कार्टुन संग्रह ‘दामोदरका सय कार्टुन’ विमोचन हुने छ ।

त्यस्तै सोही दिन साँझ शिल्पीको नाटक प्रदर्शनी, दोस्रो दिन माघ ६ गते पुण्यराम कवांको कविता संग्रहको विमोचन, तेस्रो दिन माघ ७ गते ‘युवा कति पद्छन्रु’ शिर्षकमा अन्तरक्रिया हुने तय भएको छ।

प्रदर्शनीमा नेपालका स्थापित एवं ख्याती प्राप्त लेखक, कलाकारहरुको उपस्थिति हुने आयोजकले जनाएको छ।
प्रदर्शनीको चौथो दिन (माघ ८गते) शनिबार ‘ख्वपः मोडेल’ बारे परिचर्चा कार्यक्रम हुने छ। सो परिचर्चामा जनप्रतिनीधि आएपछि भक्तपुरले विकास, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा मारेको फड्कोबारे अन्तरक्रिया हुने आयोज आरम्भ नेपालले जनाएको छ।

प्रदर्शनीमा नेपालका प्रमुख पुस्तक प्रकाशक तथा वितरकहरुको रुपमा नाम कहलिएका साझा प्रकाशन, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपालय, अनुज बुक्स, शिखा बुक्स, एकता बुक्स एण्ड पब्लिशर्स, इन्दिको इन्क, पाँचपोखरी प्रकाशन, मञ्जरी प्रकाशन गृह, लिपि बुक्स, बुक हिल, विवेक सिर्जनशील, फिनिक्स बुक्स, सांग्रिला प्रकाशन, जागरण बुक हाउस ,जनप्रकाशन गृहलगायतको उपस्थिति हुनेछ ।

प्रदर्शनीमा स्कुल तथा कलेजका विद्यार्थीलाई उपयोगी साहित्यिक कृतिहरु उपन्यास, कथा, निबन्ध, कला, समाजशास्त्र, राजनीति, बाल साहित्य, संस्कृतिसँग सम्बन्धित अनुसन्धानात्मक कृति, जीवनी जस्ता पुस्तकहरु उपलब्ध हुने भएको छ। प्रदर्शनीमा विशेष छुटका साथ पुस्तक उपलब्ध हुने भएको छ।

प्रदर्शनीमा भक्तपुरको पहिचानसँग जोडिएको नेवारी खाजाको स्टल, कितावसँगै कफी रिडर्स हब, प्रसिद्ध नवदुर्गाको मुकुण्डो प्रदर्शनी, भक्तपुरका ऐतिहासिक फोटोहरुको प्रदर्शनी, भक्तपुरको स्थानीय ह्याण्डी क्राफ्टको पनि स्टल रहने संयोजक दिनेश प्रधानले जानकारी दिए।

कमलविनायकस्थित लामगाल चौरमा हुने सो प्रदर्शनीमा दैनिक १० हजार जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।