नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै भारतीय विस्तारवादले नेपालको सहमतिविना महाकाली नदीको बहाव नेपालतर्फ धकेलिने गरी तटबन्ध निर्माण थालेकोमा विरोध जनाएको छ ।
नेक्राविसङ्घ,तेर्हौँ राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरुङको हस्ताक्षरमा प्रकाशित उक्त विज्ञप्तिमा उल्लेख छ, “अन्तर्राष्ट्रिय कानुन र नेपालको सहमतिविना भारतले माघ ४ गतेबाट दार्चुला सदरमुकाम खलङ्गा बजारको पारिपट्टि पुलघाटदेखि जहरलालसिंह नवियाल स्टेडियमसम्मको एक किलोमिटर क्षेत्रमा महाकाली नदीको बहाव नेपालतर्फ धकेलिने गरी पक्की तटबन्ध निर्माण थालेकोमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ विरोध एवम् भत्र्सना गर्दछ र उक्त तटबन्ध अविलम्ब हटाउन सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले विराटनगर महानगरपालिका–१६ स्थित दरैया र भारत जोगवनीस्थित टिकुलिया बस्तीबीच पर्ने ‘नो म्यान्स ल्यान्ड’ मा भारतीय सुरक्षा पोस्ट खडा गर्नु पनि अन्तर्राष्ट्रिय कानुनविपरीत हो । भारतीय विस्तारवादले नेपालको ७१ भन्दा बढी स्थानमा ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमी अतिक्रमण गरेको छ । नेपाली भूमि कालापानीमा लामो समयदेखि भारतले आफ्नो सेना तैनाथ गरी कब्जा गरेको छ । भारतले नेपाली भूभाग लिपुलेकमा सडक विस्तार गरी अतिक्रमण चालु राखेको छ । नेपाल–भारत सीमामा भारतले एकतर्फी सडक बाँध निर्माण गरेको कारण डुबानमा परी नेपालीको बर्सेनि ठूलो धनजनको क्षति भइरहेको छ । भारत अतिक्रमित नेपाली भूमि अविलम्ब फिर्ता गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौँ ।”
“सन् १९६० मा नेपालका प्रधानमन्त्री बीपीको पालामा चीन र नेपालबीच सीमाको समस्या समाधान भएको हो । केही सङ्गठन र सञ्चारमाध्यमहरूले चीनले नेपालमा गरेको सीमा अतिक्रमण र नाकाबन्दी गरेको दुष्प्रचार गर्नु भारतीय विस्तारवादले नेपालमा गरेको सीमा अतिक्रमणको ढाकछोप गर्नु हो । भारतले नेपालमाथि तीन पटक नाकाबन्दी गरिसकेको छ । भारतीय विस्तारवादले लामो समय नाकाबन्दी गर्दा पनि नबोल्ने सङ्गठन र सञ्चारमाध्यमले नेपालमाथि चीनले नाकाबन्दी गरेको भन्नु झुटो प्रचार हो ।”
“कोभिड–१९ महामारीको बेला अध्ययनमा गएका कतिपय देशका विद्यार्थी चीनमै सुरक्षितसँग बसे तर युरोप, अमेरिका र भारतका विद्यार्थीलाई फिर्ता लगिएपछि नेपालका शासकहरूले पनि आफ्ना छोराछोरीलाई नेपाल सरकारको ठूलो रकम खर्च गराएर फिर्ता बोलाए । अहिले चीनमा अध्ययनरत विद्यार्थी चीन जान नपाएको दोषी उनीहरूलाई उक्साएर फिर्ता बोलाउनेहरू नै हुन् । कोभिड–१९ सङ्क्रमण मत्थर भएपछि नेपाली विद्यार्थीको चीनमा अध्ययन यथाशीघ्र चालू हुने हाम्रो विश्वास छ”, विज्ञप्तिमा भनिएको छ ।
“चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोपमा पनि सत्यता छैन । चीनले शान्तिपूर्ण सहअस्तित्वको पञ्चशीलको सिद्धान्तका आधारमा नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्दै आइरहेको छ । तर, नेपालको आन्तरिक मामिलामा भारतीय विस्तारवाद र एकाधिकार पुँजीले हस्तक्षेप गर्दै आएको छ । संविधान निर्माणमा दबाब दिएको र नाकाबन्दी गरेको भारतीय विस्तारवादले लिपुलेक, नाभी, गुञ्जी तथा लिम्पियाधुरासहितको भूभाग समेटिएको नेपालको नक्सालाई अस्वीकार गरी नेपालको भूमिमा सडक निर्माण र सेना तैनाथ गरेको कुरा नेपाली जनताले बिर्सेका छैनन् । नेपाली युवा गोविन्द गौतम, जयसिंह धामीलगायतलाई भारतीय एसएसबीद्वारा हत्या गरिएको अहिले पनि नेपाली जनतामा आलै छ । भारतले गरेको सीमा अतिक्रमण, एकतर्फी बाँध र तटबन्ध निर्माण, आन्तरिक मामलामा हस्तक्षेपलगायतका घटनाहरू छायामा पार्न अहिले चीनले सीमा अतिक्रमण र नाकाबन्दी गरेको दुष्प्रचार भइरहेको हो । यो यथार्थबारे सबै सचेत एवम् सतर्क रहन नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ आग्रह गर्दछ”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।