भक्तपुर । चाँगुनारायण नगरपालिका वठा नम्वर ७ खरिपाटीमा बिहिवार दिउँसो भएको दुर्घटनामा परि स्थानीय युवाको मृत्यु भएको छ । अनियन्त्रित गतिमा आएको टाटा मिनि ट्रकले मोटरसाइकलमा सवार संजोग गिरीको घटनास्थलमा नै मृत्यु भएको हो ।
चाँगुनारायण नगरपालिका–७ खरिपाटी भद्रकालीमा प्रदेश नं ३–००१ प १४७७ नं को मोटरसाइकललाई बा ५ ख १६२५ नं को टाटा मिनि ट्रकले ठक्कर दिएको थियो ।
चाँगुनारायण नगरपालिका–७ खरिपाटी भद्रकाली बस्ने २४ वर्षिय संजोग गिरीको उक्त ठक्करबाट घटना स्थलमा नै मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिए ।
घटना पस्चात नगरकोट सडकमा लामो समय सम्म तनाव भएको थियो ।
प्रहरीले घटनामा संलग्न मिनि ट्रकका चालक सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका नाकुचे घर भई हाल भक्तपुर नगरपालिका–८ लिवाली बस्ने ३४ वर्षिय राम आचार्य र मिनि ट्रक महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा रहेको जनाएको छ ।
घटनास्थलमा महानगरीय प्रहरी परिसर, भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भईरहेको प्रनाउ पाण्डेले जानकारी दिए ।