सरस्वती पूजा : किन र कसरी मनाइन्छ ?

0
756

काठमाडौं , २०७८ माघ २३, आइतबार । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ। यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछसरकारले आजको दिन शैक्षिक संस्थाहरुमा विदा दिएको छ । सरस्वती ज्ञान-विज्ञान, कला-शिल्प, संगीतकी देवी हुन् । माघ महिनाको शुक्लपक्षको पञ्चमीलाई वसन्त पञ्चमीको रुपमा मनाइन्छ । माता सरस्वतीकी जन्मोत्सव । यसलाई हामी सरस्वती पूजाको रुपमा मनाउने गर्छौं । विधि-विधानपूर्वक पूजा गर्नाले विद्या, वाणी र प्रशिद्धिको आर्शिवाद प्राप्त हुने विश्वास गरिन्छ ।

 सरस्वती पूजाको दिन सबै शिक्षण संस्थामा शिक्षक एवं विद्यार्थीले सरस्वती माताको पूजा अर्चना गर्छन् । विद्यालय नगएका बालबालिकालाई अक्षर आरम्भ गराउने राम्रो साइत मानिन्छ यस दिनलाई । साथै कुनै पनि नयाँ कामको थालनीको सर्वोत्तम साइत हो आजको दिन ।

कसरी उत्पन्न भइन् सरस्वती माता ?
यस्तो मानिन्छ कि, सृष्टि निर्माणका समयमा सर्वप्रथम आदि शक्तिको प्रादुर्वभाव भयो । देवी महालक्ष्मीको आह्वानमा त्रिदेव अर्थात शिव, विष्णु, ब्रम्हाजी उपस्थित भए ।

 त्यसपति देवी लक्ष्मीले तीन देवतालाई आ-आफ्नो गुण अनुसार देवी उत्पन्न गर्नका लागि स्तुती गरिन् । माता लक्ष्मीकी प्रार्थना स्वीकार गरेर तिनै देवले आ-आफ्ना गुण अनुसार देवीको आह्वान गरे । सबैभन्दा पहिला भगवान शिवले तमोगुण महाकाली प्रकट गरे, भगवान विष्णुले रजोगुणवाट माता लक्ष्मीको र ब्रम्हाजीले आफ्नो सत्वगुणबाट देवी सरस्वतीको आह्वान गरे ।

किन वाणीकी देवी भनिएको ?
ब्रम्हाजीले सृष्टिको निर्माण गरेपछि जव आफुले बनाएको सृष्टिको मृत शरीरको भाँति शान्त वा स्वरविहिन पायो, तब ब्रम्हाजी उदास भए । उनले आफ्नो व्यथा विष्णुलाई भने । विष्णुले ब्रम्हालाई भने, उक्त समस्याको समाधान माता सरस्वतीले गर्न सक्छिन् । माता सरस्वतीले ब्रम्हाको अनुरोधमा जसरी वीणाको तारमा स्पर्श गरिन्, त्यसैगरी ‘सा’ शब्द प्रस्फू्टन भयो । यो शब्द संगीतको सप्तसुरमा प्रथम सुर मानिन्छ ।

यस ध्वनिले ब्रम्हाजीको मूक सृष्टिमा स्वरमय ध्वनिको संचार भयो । हावाको, सागरको, पशु पंक्षि एवं अन्य जीवको आवाज आउन थाल्यो । यसबाट ब्रम्हाजी प्रशन्न भएर सरस्वतीको वाणीको देवीको नामबाट सम्बोधन गर्दै वागेश्वरी नाम दिए ।

बसन्त ऋतुको आगमन
यसलाई बसन्त पञ्चमी पनि भनिन्छ । वसन्तको शाब्दिक अर्थ हो, मादकता । यस समयमा धर्तीमा उत्पादन क्षमता बढ्छ, रुख बुट्यानमा नयाँ पालुवा पलाउँछ । वसन्त पाँच दिनअघि वसन्त ऋतु आरम्भ हुन्छ । यही यामलाई ऋतुहरुको पनि राजा भनिन्छ । वसन्त पञ्चमीमा कमदेव एवं रीतको पूजा गरिन्छ । यसै दिन माता सरस्वतीको जन्मोत्सव पनि मनाइन्छ ।

कसरी मनाउने ?
घर, विद्यालय, मन्दिर जहाँ पनि सरस्वती पूजा मनाउन सकिन्छ । पौराणिक कथन अनुसार सबैभन्दा अघि भगवान श्रीकृष्णले सरस्वतीको पूजा गरेका थिए । रातको समयमा सबै दैनिक कामबाट निवृत्त भएर नुहाई, ध्यान गरेर माता सरस्वतीको तस्विर वा मूर्ति स्थापना गर्नुपर्छ । यसपछि कलस स्थापित गरिन्छ र गणेशजी एवं नवग्रहका विधिवत पूजा गरिन्छ ।

सरस्वती पूजा गर्दा सबैभन्दा पहिला उनलाई नुहाइदिने चलन छ । त्यसपछि माताको सिन्दुर र अन्य श्रृंगारको वस्तु चढाउने र फूलमाला चढाउने चलन छ । यससँगै सरस्वती कवचको पाठ गरिन्छ ।

‘ऊँ ऐं सरस्वत्यै नमः’ मन्त्रलाई एक सय आठपटक जप गरेर सरस्वतीको आरती गरिन्छ । सरस्वती मिश्री, दूध, दही, तुलसी, मह मिलाएर पञ्चामृतको प्रसाद बनाएर चढाउने प्रचलन छ । यसका साथमा खिरको प्रसाद अर्पण गर्ने गरिन्छ ।

वसन्त श्रवण
यसअवसरमा हुनुमान ढोकास्थित नासल चोकमा आज वसन्त श्रवण गरिँदै छ। वसन्त श्रवणको लागि बिहान १०ः३० बजेको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

वसन्त श्रवणमा कवि जयदेवले रचना गरेको सरस्वतीसम्बन्धी श्लोक पाठ गर्ने परम्परा रहेको हुनुमान ढोका दरबार हेरचाह अड्डा कार्यालयका प्रमुख सन्दीप खनालले जानकारी दिए। यो पाठ १५ श्लोकको रहेको छ।

आजका दिन वसन्त श्रवण गरिने भएकाले यो पर्वलाई वसन्त पर्व पनि भनिन्छ। वसन्त श्रवणमा राष्ट्राध्यक्ष, सरकार प्रमुख, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्याधीशलगायत विशिष्ट व्यक्तित्वको नासल चोकमा उपस्थिति रहने चलन छ।