फेरी बढेर आयो पेट्रोलियम पदार्थको मुल्य

0
934

इण्डियन आयल कर्पोशेन ‘आईओसी’ ले मुल्य बढाएर पेट्रोलियम पदार्थको नयाँ मुल्य सुची पठाएको छ। अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बढिरहेकाले ‘आईओसी’ ले मुल्य बढाएर नयाँ सुची पठाएको नेपाल आयल निगमले जनाएको छ।

निगमकाअनुसार अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको छ। ‘आईओसी’ ले पठाएको सूची अनुसार प्रति लिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धनमा ४.९५ ले मुल्य बढेर आएको निगम जनाएको छ ।

नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएको छ । निगमले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा करिब २४ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको जनाएको छ।

‘आईओसी’ ले मुल्य बढाएर पठाएपनि नेपाल आयल निगमले भने मुल्य बढाएको छैन। निगमले माघ १८ गते मात्रै पेट्रोलियम पदार्थको मुल्य बढाएको थियो।

निगमले पेट्रोल र डिजेल/मट्टितेलको प्रति लिटर ३ रुपैयाँले बढाएको थियो। यस संगै पेट्रोलको मूल्य प्रति लिटर १४२ रुपैयाँ कायम भएको थियो भने  डिजेल/मट्टितेलको प्रति लिटर मूल्य १२५ रुपैयाँ कायम भएको छ।

साथै आन्तरिक हवाई ईन्धनमा प्रति लिटर रू. १० ले वृद्धि गरी बिक्री मूल्य प्रति लिटर रु. ११६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर १०० ले वृद्धि गरी प्रति किलो लिटर बिक्री मूल्य अमेरिकी डलर १,०९५ कायम गरिएको थियो।

एल.पी.ग्यासको नयाँ खरिद मूल्य प्रति सिलिण्डर रू८१.६२ ले घटेर आएतापनि अझै निगमलाई प्रति सिलिण्डर रू. ५६० रुपैयाँ घाटा हुँदा समेत बिक्री मूल्य नबढाई हाललाई यथावत नै राखिएको निगमले जनाएको छ।