दाइजोको निउँमा विहे गरेको एक वर्ष नवित्दै नगरकोटमा एक युवतीको रहस्यमय मृत्यु

0
916

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा न ६ मा एकजना महिलाको रहस्यमय ढंगबाट मृत्यु भएको छ ।
बिहीबार २२ वर्षकी सुर्यमाया तामाङको मृत्यु भएको भन्दै मृतकका श्रीमानले माइतीघर काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा न २ मा रहेकी सासु आमालाई खबर गरेका थिए । मृतकले २०७७ साल चैतमा चाँगुनारायण ६ का राजिव तामाङसँग प्रेम विवाह गरेकी थिइन् ।

विवाह पछि पनि दाइजो र विभिन्न नाममा आफ्नी छोरीलाई कुटपिट गरिदै आएको माइती पक्षले बताएको छ ।
मृतकका बुबा संग्राम तामाङ भने ‘मेरो छोरीको हत्या भएको हो, आफैं मरेको होइन ।’

खबर आएलगत्तै माइती पक्ष मृतक महिलाको घरमा पुग्दा उनको शरीर सुत्ने ओछयान भएको संग्राम बताए । केही समय पहिले पनि छोरीले घरमा झगडा परेको भन्दै राती १२ बजेतिर फोन गरेको उनले स्मरण गरे । घर पक्षले झुन्डिएर आत्महत्या गरेको भनेपनि माइती पक्ष उक्त कुरा विश्वास गर्ने ठाउँ नभएको सुर्यमायाका दाई रामकुमार तामाङको भनाई रहेको छ । बिहे लगत्तै बहिनीमाथि हिंसा हुने भएको र आमाजुले मानसिक तनाव दिने गरेको दाजुको आरोप छ ।

सुर्यमाया र श्रीमान विदेश जाने तयारीमा समेत रहेका थिए । उनीहरु विदेश जान सीपमुलक तालिममा समेत जाने गरेको मृतकका दाजुले बताए । बिहीबार राजीवले आफु मात्रै विदेश जाने भनेर म्यान पावरबाट सूर्यमायाको पासर्पोट फिर्ता ल्याएको माइती पक्षको आरोप छ ।

मृतकको शव ओछ्यानमा भएको, शरीरका विभिन्न भागमा रगत देखिएको आत्महत्या नभइ हत्या भएको भन्दै महानगरीय प्रहरी परिसरमा उजुरी दिन माइती पक्ष काभ्रेबाट भक्तपुर आएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेले मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमा रहेको र रिर्पोट आउन बाँकी रहेको बताए । शव परीक्षणको रिपोर्ट आएपछि घटना सम्बन्धमा थप अनुसन्धान हुने डीएसपी पाण्डेको भनाई छ ।