काठमाडौं,२०७८ फागुन १२ । देशमा एमसीसीको कुरो चलिरहेको छ । एक पक्ष एमसीसीको पक्षमा उभिएको छ भने अर्को पक्ष एमसीसी खारेजिको पक्षमा उभिएको छ । यतिवेला एमसीसीको विषय सबै भन्दा वेफुर्सद भएको छ युट्युबेहरूलाई ।
देशको जतिल अवस्थामा पार्टी नेताहरूहरूको धारणा आउनु पर्छ । तर नेता मन्त्रीहरूलाई पत्रकारहरूले भेत्न खोज्दा पत्रकारहरूलाई समय नै दिदैन । ठिक त्यहि समयमा युट्युबेहरूले अन्तरवार्ता लिइसकेको हुन्छ । अहिले यो अवस्थाले कस्तो किसिमको समाचार जनता माझ पुग्छ भनि माइसंसारले तयार पारेको एक रिपोट स.
एमसीसीको विषयले समाजलाई कसरी ध्रुवीकृत बनाइसक्यो, त्यो अहिले छर्लङ्ग भइसक्यो। तर एमसीसीको मूल मुद्दासँगै योसँगै जोडिएका मिथ्या सूचनाहरुले पनि मान्छेको दिमाग भुटिरहेको छ। सर्वसाधारण एमसीसीका कुन सही कुरा हो, कुन मिथ्या- थाहा पाउनै नसकिने गरी अलमलमा छन्। लिडर र ओपिनियन लिडरहरुले यस्तोमा गाइड गर्नुपर्ने हो। तर उनीहरु आफै द्वैध चरित्र देखाउँदै छन्। यही मौकामा एमसीसीको डलर त उस्तै हो, यसलाई नै बेचेर डलर कमाउनु पर्छ भन्दै केही मनमा लागेको कुरा लेखेर मनकारिता गर्नेहरुले पत्रकारिताको बदनाम गर्दै छन्। केही नमूना हेरौँ।
यो युट्युबे च्यानलवालालाई प्रधानमन्त्री देउवादेखेर लास्टै रिस उठेछ। अनि हेडलाइनबाटै अज्ञात समूहद्वारा देउवाको अपहरण गर्न लगाएछ। त्यसपछि बालुवाटारमा रुवाबासी मच्चाइदिएछ। अनि आरजुमाथि बम पनि पड्काइदिएछ। अपलोड गरेको मात्र तीन घण्टामा झण्डै ९ हजार भ्युज पुगिसकेछ यस्तो मिथ्या समाचार भएको भिडियो।
२८ हजार भ्युज भएको यही च्यानलको अर्को हिंसात्मक हेडलाइन हेर्नुस्।
त्यही च्यानलले अर्को झुट ८ दिन अगाडि बेचेको थियो- झाँक्रीसहित चार मन्त्रीले राजीनामा दिएको भनेर। युट्युबेलाई मनमा लाग्दैमा मन्त्रीले कहाँ राजीनामा दिन्छन् र, अझैसम्म दिएका छैनन्।
यो युट्युबेले भने सिरिया र अफगानिस्तानभन्दा दर्दनाक दृश्य देखिएको घोषणा गरिदियो।
यो अर्को युट्युबेले भने सेनालाई नै सडकमा उतारिदियो अनि गोली चलाएर पाँच जनाको ज्यान लिइदियो। त्यतिमात्र हैन, भोलिदेखि स्कूल बन्द भएको मिथ्या सूचना पनि यसले फैलायो।
यो युट्युबेले भने प्रचण्डको परिवारको कुरालाई मनलाग्दी हेडलाइन बनायो। युट्युबको भेरिफाइड यो च्यानलका भिडियो भने यस्तै यस्तै अनभेरिफाइड छन्। यही च्यानलको अर्को भिडियोको मिथ्या सूचना छ- देउवा प्रधानमन्त्रीबाट हटे।
यो अर्को एक लाखभन्दा बढी सब्सक्राइबर भएको भेरिफाइड युट्युब च्यानल हिंसक हेडलाइन हालेर ४ घण्टामा ३० हजार भ्युज कमाउन सफल भयो। न नेताको घरमा बम पड्किएको छ, न प्रहरीले ३२ राउन्ड गोली हानेको छ, न चार नेता ढलेका छन्।
यो च्यानलले नेपाल र प्रचण्डलाई घेरेर आगोसमेत लाइदियो। अनि यस्तो झुटो कुरामा ३१ हजार भ्युज।
यही च्यानलका ६१ हजार भ्युज भएको भिडियोमा युट्युबरले नेतालाई चटाचट काटेर रगतको खोला बगाएछ भने ३६ हजार भ्युज भएको भिडियोमा नेतामाथि बम हानेछ।
४ लाख सब्सक्राइबर भएको त्रिशुली खबर टिभी नामको यो अर्को युट्युबे च्यानललाई पनि झोँक लगेछ र बालुवाटारमा बम विस्फोट गराएर दुई नेतालाई ढालिदिएछ। अनि देउवालाई हेलिकप्टर चढाएर टाप ठोकाइदिएछ।
त्यतिले नपुगेर संसद भवन अगाडि रगतको खोला बगाउँदै ५ जनाको मृत्यु पनि गराइदियो यही युट्युबेले।
अनि ३५ हजार भ्युज पाइसकेको यो च्यानलले चाहिँ अमेरिकालाई भनेर नेपालमा एमसीसीलाई खारेजै गरिदिएछ।
र, यो च्यानलले चाहिँ लाखौँ चिनियाँ सेनालाई नै नेपालमा उतारिदियो
यी त भए युट्युबका केही भिडियो। अब यसो फेसबुकतिर पनि हेरौँ-
यो फेसबुकेले देउवालाई जेल चलान गरिदियो सर्वोच्चले नदिएको आदेशको हवाला दिँदै।
यो अर्को फेसबुकेले पूर्वराजालाई सडकमा उतारेर सिंहदरबार घेर्न लगाए।
यसले त झन् एमालेलाई फेरि फुटाइदियो।
बुझ्नु पर्ने कुरा के हो भने कुनै डट कम वा इन्टरनेटमा कुनै पेजको लिङ्क हुँदैमा त्यो अनलाइन मिडिया हुँदैन। अनि त्यसमा लेख्ने पत्रकार हुँदैनन्। वर्षको थोरै रकम तिरेर जो कसैले इन्टरनेटमा यस्तो डोमेन किन्न सक्छन् र आफूलाई मन लागेको कुरा लेख्न सक्छन्। त्यस्तो अनलाइन इकान्तिपुर, अनलाइनखबर जसरी इन्टरनेट चलाउने सबैले सजिलै हेर्न सक्छन्।
त्यसैगरी युट्युबमा टिभी लेखेर वा नलेखेर समाचार पढे जस्तै गरेर वा नगरेर कसैले भिडियो हाल्दैमा त्यो पत्रकारले हालेको हुँदैन।
यस्ता मिथ्या सूचना फैलाउनेको मुख्य उद्देश्य कि पैसा कमाउनु हुन्छ कि भने आफ्नो कुनै निश्चित एजेन्डा। कसैले नियतवश कुनै व्यक्ति वा संस्थालाई हानी पुर्याउने नियत भएका सूचना पनि फैलाउन सक्छन्।
पत्रकारहरुलाई थाहा भए पनि अरु पेशाकालाई यो पत्रकारिता हैन, यी अनलाइन मिडिया हैनन् भन्ने कुरा खासै थाहा हुन्न। यी फेक न्युज उत्पादकहरुले समग्र पत्रकारिता पेशाकै बदनाम गरिरहेका हुन्छन्।
पत्रकार संगठनहरुको यसमा खासै ध्यान गएको छैन। यस्तो काम गर्न नहुने भए पनि ठूलै मान्छेको बदनामी गर्ने कुरा नभएसम्म प्रहरीले पनि खासै वास्ता गर्दैन। प्रहरीले चाह्यो भने विद्युतीय कारोबार ऐन लगाएर यस्ता झुटा समाचार राख्नेलाई तीन साता थुनेर मुद्दा लगाउन सक्छन्।
तपाईँले रोक्न सक्नुहुन्छ यस्ता फेक न्युजलाई
यस्ता फेक न्युजहरु फैलने सामाजिक सञ्जालबाटै हो र सामाजिक सञ्जाल तपाईँ हाम्रै सञ्जाल हो। हामीले चाहने हो भने यस्ता फेक न्युजलाई मज्जाले रोक्न सक्छौँ।
यसका लागि केही उपाय-
- कसैले झुक्याउने खालका हेडलाइन राखेर भित्र अर्कै समाचार राखेको देखेमा, हुँदै नभएको फेक न्युज लेखेको तपाईँ आफैलाई थाहा भएमा त्यस्तो समाचार राख्ने फेसबुक पेजलाई अनलाइक, ब्लक गर्नुस्। त्यस्ता फेसबुक ग्रुपलाई ‘लिभ’ गरी बाहिरिनुस्। त्यस्ता लिङ्कलाई फेसबुकमा रिपोर्ट पनि गर्न सक्नुहुन्छ।
- त्यस्ता भिडियो देख्नुभएमा युट्युबमा रिपोर्ट गर्ने अप्सन हुन्छ, रिपोर्ट गर्नुस्। त्यस्तो च्यानललाई अनसब्सक्राइब गर्नुस्।
- शंका लाग्ने खालका समाचार देखिएमा त्यसमा हत्त न पत्त कमेन्ट गर्ने, लाइक गर्ने वा सेयर गर्ने काम नगर्नुस्। यसले त्यस्ता फेक न्युजलाई झन् फैलाउन मद्दत गर्छ। (माथि विमान दुर्घटनाको फेक न्युजमा मैले चिनेकै पत्रकारहरुले समेत लाइक गरेको देखेँ। सामान्य मानिसलाई थाहा नहोला, तर पत्रकारले समेत यस्तोमा लाइक गर्नु भनेको उसले फैलाउन खोजेको फेक न्युजलाई झन् फैलाउन सघाएको हो)
- इन्टरनेटमा जे देखिए पनि पत्याइहाल्ने प्रवृत्ति त्यागौँ। सूचना र समाचारका लागि विश्वासिला स्रोतहरुको मात्र प्रयोग गरौँ। त्यस्ता विश्वासिला स्रोतका समाचारलाई मात्र सेयर गरौँ।
- कुनै समाचारमा शंका लागेमा त्यसमा रियाक्सन (लाइक, कमेन्ट, सेयर) नगरी फ्याक्ट चेक गर्ने संस्थाहरुलाई पठाउनुस्। नेपाल फ्याक्ट चेक र माइसंसारले पनि फ्याक्ट चेक गर्ने गर्छ। शंका लागेका लिङ्क, फोटो वा भिडियो तलको माध्यमबाट पठाउन सक्नुहुन्छ-