कविता – छोरी

0
273

तिम्री छोरी
म बन्न सकिनँ आमा
लाज भो रे तिमीलाई
छोरी हो मेरी
भन्न पनि मलाई

लगाइनँ मैले मिनिस्कट
धाउने गरिनँ म डान्सबार
सकिनँ पिउन
चुरोटका ठुट्टाहरु
अहँ रमाउन सकिनँ
हुस्की, बियरका चियर्सहरुमा

हो, दौंतरी मेरा
बनिसके आमा
तर
स्वीकार्न सकिनँ मैले
बालविवाह
मात्र भोग्न चाहिनँ
असल गृहिणीको मर्यादा

देख्न थालें सपना
सत्मार्ग एउटा
हो आमा !
तिमीले नदेखेका सपना
तिमी नहिडेको बाटो
देख्न थालेकी छु मैले
तिमीले नभेटेको स्वर्ग
आलोकित भएकी छु म
एउटा नयाँ ज्वालाबाट
त्यतै दोरिएकी छु
जहाँ
सुनिश्चत हुनेछ जीवन
हुनु पर्ने छैन कोही टाढा
शिक्षाको पहुँचबाट
न्याय र समानताबाट
मर्नुपर्ने छैन आमा
कोही पनि नपाएर सिटामोल

त्यसैले आमा
नफसाऊ मलाई
शृंगारिक मोहमा
त्यो आँशुले मेरो
नरोक बाटो
विदा देऊ बरु
हाँसी हाँसीकन
आउनेछु फर्की
अन्धकार यो समाजमा
उज्यालो छर्न
सिङ्गो यो देशकी
छोरी बनेर ।

✍️ बिमला आचार्य