भक्तपुर, २०७८ फागुन २४ । चाँगुनारायण नगरपालिका–६ बागेश्वरीमा जस्तापाताको टहरीभित्र एक महिलाको शव फेला परेको छ। तरकारी खेती हुँदै आइरहेको जग्गामा निर्माण गरिएको टहरामा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ की जेनिशा नगरकोटीको शव सोमवार राति फेला परेको हो।
जेनिशाको घाँटी अगाडिको भागमा गहिरो चोटका साथै शरीरको अन्य भागहरूमा समेत काटेको चोट रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए। शव अर्धनग्न अवस्थामा फेला परेको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ भक्तपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको थियो। प्रारम्भिक अनुसन्धानमा घटना आइतवार बिहान भएको पाइएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। प्रहरी स्रोतका अनुसारमा घटनामा संलग्नको पहिचान समेत खुलिसकेको छ।
मृतकको शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट पठाएको छ। पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र घटनाबारे विस्तृत विवरण आउन सक्ने पाण्डेले बताए।