१० मत कम हुँदा स्थानीय तह प्रमुख बन्न नपाएका यी ८ पात्र

0
1027

३० बैसाखमा हुने स्थानीय तह चुनावका लागि अहिले सरकार, निर्वाचन आयोग तथा राजनीतिकदलहरू तीब्र तयारीमा लागेका छन् । चुनावी कार्यक्रम पनि सार्वजनिक भइसकेकाे छ । उम्मेदवार बन्न चाहनेहरू प्रयासमा लागिसकेका छन् ।

अघिल्लो चुनावमा हार्नु परेको कारण र अहिले जित्ने आधारको खोजिमा दलहरू रहेका छन् ।  यसै सन्दर्भमा हामीले २०७४ सालको चुनावमा अत्यन्तै कम मत अर्थात एकल अंकमा नै मतान्तर भएर स्थानीय तहको प्रमुख बन्न नपाएका त्यतिबेलाका उम्मेदवार खोजी गरेका छौँ ।

मतान्तरबिना नै हारेकी मेनुका

समान मत पाएर पनि हारिन् मेनुका कार्की । झापाको कमल गाउँपालिकामा एमालेको तर्फबाट मेनुका कार्की उम्मेदवार थिइन् । अध्यक्ष वा प्रमुखमा देशैभरबाट अपवादमात्रै महिला पात्र रहेकोमा यस गाउँपालिकामा उनले अवसर पाएकी थिइन् । उनका प्रतिस्पर्धी थिए कांग्रेसका हुकुमसिंह राई ।  हुकुम र मेनुकाले समान ८ हजार २ सय ७५ मत प्राप्त गरे ।

तर, गाउँपालिका अध्यक्षमा भने हुकुम निर्वाचित भए । समान मत ल्याएकी उनी गोला पर्थाबाट हारेकी थिइन् ।

एक भोट थप्न नसक्दा हारे भीम

झापामा कांग्रेसका हुकुमले प्रतिस्पर्धी भन्दा एक मत पनि बढी नल्याई अध्यक्षको कुर्चीमा बस्दा अछाममा भने कांग्रेसकै भीमबहादुर साउदले एक मत कम भएको कारण त्यो अवसर गुमाए ।

अछामको चौरपाटी गाउँपालिका अध्यक्षमा कांग्रेसका तर्फबाट भीमबहादुर साउद र एमालेको तर्फबाट हर्कबहादुर साउद उठेका थिए । कांग्रेसका भीमबहादुरले ३ हजार १ सय ३७ मत प्राप्त गरे भने एमालेका हर्कबहादुरले ३ हजार १ सय ३८ मत प्राप्त गरेर विजयी भए ।

२०७४ काे चुनावमा डोल्पामा एमालेका लंकबहादुर रोकाय २ मत, जुम्लामा एमालेकै भै बहादुर रोकाय ३ मत. ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको अध्यक्षमा एमालेकै भीमबहादुर थापा मगर पनि ३ मत धेरै ल्याउन नसकेको कारण पराजित बन्न पुगे ।

सिराहाको औरही गाउँपालिका संघीय समाजवादीका शिबजी यादव ६ मतले र पर्साको बिन्दबासिनी गाउँपालिकामा कांग्रेसका चन्द्र किशोर प्रसाद वरै र भोजपुरको रामप्रसाद गाउँपालिकामा माओवादी केन्द्रका थामबहादुर राई समान ८ मत कम भएका कारण हारेका थिए ।

२०७४ सालको स्थानीय तहको निर्वाचन परिणाम
जिल्ला स्थानीय तह उमेद्‍वार (विजेता) पार्टी प्राप्त मत उपविजेता (विजेता) पार्टी प्राप्त मत मतान्तर
डोल्पा मुड्केचुला गाउँपालिका दत्त बहादुर शाही माओवादी केन्द्र 933 लंक बहादुर रोकाया एमाले 931 2
जुम्ला हिमा गाउँपालिका रज बहादुर शाही माओवादी केन्द्र 1317 भै बहादुर रोकाया एमाले 1314 3
झापा कमल गाउँपालिका मेनुका काफ्ले एमाले 8275 हुकुमसिंह राई नेपाली काँग्रेस 8275 0
भोजपुर रामप्रसाद राई गाउँपालिका विजय राई एमाले 2356 थाम बहादुर राई माओवादी केन्द्र 2348 8
ओखलढुंगा चिशंखुगढी गाउँपालिका निशान्त शर्मा बास्तोला माओवादी केन्द्र 1906 भिम बहादुर थापा मगर एमाले 1903 3
अछाम चौरपाटी गाउँपालिका हर्क बहादुर साउँद एमाले 3138 भिम बहादुर साउंद नेपाली काँग्रेस 3137 1
सिराहा औरही गाउँपालिका सिद्धार्थ यादव माओवादी केन्द्र 2658 शिबजी यादव संघीय समाजवादी 2652 6
पर्सा बिन्दबासिनी गाउँपालिका श्रीलाल साह कानु संघीय समाजवादी 2611 चन्द्र किशोर प्रसाद वरै नेपाली काँग्रेस 2603 8

साभार -शिलापत्रबाट