बर्सेनि क्षयरोगका ६९ हजार नयाँ बिरामी थपिँदै, १६ हजारको मृत्यु

0
658

आज विश्व क्षयरोग (टीबी) दिवस । २४  मार्च १८८२ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको किटाणु पत्ता लगाएकाले त्यसैको स्मरणमा दिवस मनाउने गरिएको छ । ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ नेपालमा पनि विभन्न कार्यक्रम गरि मनाइँदै छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा बर्सेनि ६९ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेका छन् । केन्द्रका निर्देशक डा. सञ्जयकुमार ठाकुरले नेपालमा नयाँ र पुराना गरी १ लाख १७ हजार क्षयरोगका बिरामी रहेको बताए ।

‘बिरामी भएकामध्ये १६ हजारको मृत्यु हुने अनुमान छ,’ उनले भने, ‘अनुमानित बिरामीको संख्या र उपचारमा आएका बिरामी संख्याको अनुपात हेर्दा अझै प्रतिवर्ष झण्डै ४० हजारभन्दा बढी व्यक्तिको रोग पत्ता लगाई उपचारको दायरमा ल्याउन आवश्यक देखिन्छ ।’

क्षयरोगका बिरामी महिलाको तुलनामा पुरुषमा धेरै हुने गरेको पाइएको छ । ‘६७ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला र ७ प्रतिशत बालबालिका छन्,’ निर्देशक ठाकुरले भने ।

केन्द्रका अनुसार औषधि प्रतिरोधी क्षयरोगका बिरामीको संख्या वार्षिक २ हजार २ सय छन् । ‘यो संख्या जनसंख्याको अनुपातमा धेरै हो । विश्व स्वास्थ्य संगठनले नेपाललाई सन् २०२१ देखि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूची सार्वजनिक गरेकोमा नेपाल पनि समावेश भएको छ,’ उनले भने ।

आर्थिक वर्ष २०७७/०७८ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ५ सय ६९ जनाको औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने ४ सय १८ जना उपचारमा दर्ता भएका थिए । ‘औषधि प्रतिरोधी क्षयरोगका बिरामी र रोग पत्ता लागी उपचारमा आएको बिरामीको संख्या हेर्दा १ हजार ६ सय ३१ जनाको रोग पत्ता लगाई उपचारमा ल्याउन चुनौती देखिएको छ,’ उनले भने ।

विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको कार्यक्रम ।

न्यूनीकरणको प्रयास

क्षयरोग न्यूनीकरण गर्न सरकारले वार्षिक ७२ करोड खर्च गर्ने गरेको छ । तर, बर्सेनि बिरामीको संख्या बढ्दै गएको सरकारी तथ्यांकले नै देखाउँछ । क्षयरोगको निदानका लागि प्रयास गरिरहेको केन्द्रको दाबी छ । निदानका लागि केन्द्रियस्तरमा निर्माण भएको छाती रोग अस्पतालको सञ्चालनका साथै सातवटै प्रदेशमा क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको विकास गर्ने योजना छ,’ निर्देशक ठाकुरले भने ।

विश्वको अवस्था

विश्व स्वास्थ्य संगठनको २०२० को प्रतिवेदनअनुसार संसारभर ९९ लाख व्यक्ति क्षयरोगबाट पीडित छन् । जसमा ५५ लाख पुरुष, ३३ लाख महिला र ११ लाख बालबालिका छन् । विश्वमा वार्षिक १५ लाखको मृत्यु हुने गरेको अनुमान गरिएको छ ।

क्षयरोगको लक्षण

– दुई हप्ता वा सोभन्दा बढी समयसम्म खोकी लाग्नु ।
–साँझपख ज्वरो आउनु ।
– तौल घट्दै जानु ।
– खकारमा रगत देखिनु ।
– खाना खान मन नलाग्नु ।

  • शिलापत्रबाट