निर्वाचन आयोगले सशुल्क रूपमा राजनीतिक दल तथा स्थानीय तहका उम्मेदवारहरूलाई मतदाता नामावली विवरण उपलब्ध गराउने भएको छ । आयोगले निर्वाचन निर्देशिका २०७८ अनुसार मतदाता नामावली उपलब्ध गराउने व्यवस्था गरेको हो ।
सोमबार आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले शुल्क बुझाएर राजनीतिक दलहरूले मतदाता नामावली विवरण आयोगबाट लिन पाउने व्यवस्था गरिएको जानकारी दिए । त्यसका लागि आयोगले शुल्क पनि तोकेको छ ।
पौडेलले ७ हजार रुपैँया तिरेर देशभरिको मतदाता नामावली पाउन सकिने जानकारी दिए । त्यस्तै, प्रदेशस्तरको नामावली विवरण ५ हजार शुल्क तिरेर केन्द्रबाट पाउन सकिने छ ।
त्यस्तै ३ हजार शुल्क तिरेर जिल्लाभरिको, १ हजार तिरेर स्थानीय तहभरिको र ५०० शुल्क तिरेर वडाभरिको मतदाता नामावली सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट पाउन सकिने छ ।
‘केन्द्रबाट राजनीतिक दलको आधिकारिक पत्रको आधारमा ७ हजार तिरेर देशभरिको र ५ हजार तिरेर प्रदेशको उपलब्ध गराउन सकिन्छ भने जिल्लाबाट सम्बन्धित दलको पत्र वा उम्मेदवारको पत्रका आधारमा जिल्लाभरिको ३ हजार पालिकाको १ हजार र वडाको आवश्यक भएमा ५ सय रुपैयाँ लिएर सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावलीको विद्युतीय कपी उपलब्ध गराउन सक्छ,’ पौडेलले भने ।-शिलापत्रबाट