भक्तपुर, २१ चैत । भक्तपुरमा तीनदिने पुस्तक प्रदर्शनी सुरु भएको छ । आरम्भ नेपालले भक्तपुरको कमलविनायकस्थित लामगालमा तीन दिने पुस्तक प्रदर्शनी सुरु गरेको हो ।
सो पुस्तक प्रदर्शनीको उदेघाट्न नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंँ(रोहित) ले गरे । सो क्रममा अध्यक्ष बिजुक्छेँले पुस्तक प्रदर्शनीलाई बढावा दिनुपर्ने बताए ।
उनले पछिल्लो समयमा पुस्तक अध्ययनमा ह्रास आइरहेको बताउँदै पुस्तक प्रदर्शनीमार्फत् नयाँ पुस्तामा पुस्तक अध्ययन संस्कृति विकास गर्दै लग्नुपर्ने र त्यसका लागि पुस्तकसम्बन्धी, छलफल, अन्तरक्रिया र अन्तरक्रियाले सहयोग गर्ने बताए ।
भक्तपुर ब्यासीका कवि एवं कार्टुनिष्ट दामोदर सुवालको ‘सय कार्टुन’ नामक कार्टुन संग्रहको विमोचनका साथ उद्घाटन गरिएको पुस्तक प्रदर्शनीमा अध्यक्ष बिजुक्छेंँले कार्टुनिष्ट तथा साहित्यकारहरुले वर्गाीय चेत बिर्सन नहुने उल्लेख गरे ।
उनले पूँजीवादी व्यवस्थामा विभिन्न विकृति र विसंगति व्यापक हुने भएकाले सो विरुद्ध समाजवादी क्रान्तिका लागि संघर्ष गर्नुपर्नेमा जोड दिए । अध्यक्ष बिजुक्छेँले अहिले नेपालमा भारतीय विस्तारवादको प्रभाव बढ्दै जाँदा देशको सार्वभौमिकता खतरामा पर्दै गएको बताए ।कार्यक्रममा बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाइँले पुस्तक प्रदर्शनी जरुरी रहेकोमा जोड दिए । उनले मानिसहरुमा संवेदनाको विकास गराउन र ज्ञानको जग बसाल्नका लागि पुस्तकको जरुरी रहेको उल्लेख गर्दै पुस्तक प्रदर्शनीलाई बढावा दिनपर्नेमा जोड दिए ।
उनले देश र जनताको प्राथमिकता शिक्षा र स्वास्थ्य हुनुपर्नेमा भ्यूटावर हुनु विडम्वनापूर्ण भएको चर्चा गरे । कार्यक्रममा उनले बागमती प्रदेशमा प्रतिनीधित्व गर्ने ठूला राजनीतिक दलहरु मुख्यमन्त्रीको दौडमा लाग्दा जनताका विषय ओझेलमा परेको बताए ।
कार्यक्रममा वरिष्ठ कार्टुनिष्ट अविन श्रेष्ठले कार्टुनिष्टहरु सधैँ प्रतिपक्षी हुने बताए । उनले नेपाली राजनीतिका विभिन्न विषयलाई कार्टुनमार्फत् सचेत गर्दै आइरहेको बताउँदै कतिपय राजनीतिक दलका नेताहरुको तारोमा कार्टुनिष्टहरु पर्दै गइरहेको बताए ।
कार्यक्रममा कार्टुनिष्ट दामोदर सुवालले आफ्नो कार्टुन कलाका विषयमा बोलेका थिए । चैत २१ गतेदेखि २३ गतेसम्म हुने पुस्तक प्रर्दशनीको उदेघाटन सत्रमा आयोजक नेपालका अध्यक्ष बालकृष्ण बनमालाको सभापतित्वमा भएको थियो ।
उद्घाटनपछि कार्यक्रमका अतिथिहरुलेपुस्तक प्रदर्शनीको अवलोकन गरेका थिए ।
पुस्तक प्रदर्शनीमा साझा प्रकाशन, रत्न पुस्तक भण्डार, नेपालय प्रकाशन, नेपाल प्रज्ञा प्रतिष्ठान, जनप्रकाशन गृह, अनुज पब्लिकेशन, इन्डिको यन्क, फिनिक्स पब्लिकेशन, साँग्रिला पब्लिकेशन, शिखा बुक्स, दोबिला पब्लिकेशन, स्वदेश प्रकाशनगायतको सहभागिता रहेको प्रदर्शनी संयोजक लक्ष्मीप्रसाद चवालले बताए । –भक्तपुर टाइमबाट