अध्यक्ष बिजुक्छेँसँग चिनियाँ नेता युआनको भेट

0
189

भक्तपुर, साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग तीनदिने नेपाल भ्रमणमा आउनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा छोङछिङ नगरपालिकाको पार्टी समितिका सचिव युआन चियाच्युनले भेटघाट गर्नुभयो । जनताको सेवा गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको अनुभवबाट नेपाली जनताले सिकेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले चीनबाट सम्पदा संरक्षण, फोहरमैला व्यवस्थापन, कृषि क्रान्ति, रासायनिक मल कारखाना स्थापनालगायत विषयमा सिक्न सक्ने बताउनुभयो ।
नेपाल र चीनबिचको मैत्रीपूर्ण सम्बन्ध धेरै पुरानो भएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले चीन–नेपालबिचको उच्चस्तरीय भ्रमणले दुई देशबिचको मित्रतालाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
चिनियाँ प्रतिनिधिमण्डलका नेता युआन चियाच्युनले चीनको पुरानो मित्रसँग भेटघाटको अवसर पाएको उल्लेख गर्दै नेमकिपाले जनताको सेवा गर्ने राजनैतिक प्रतिबद्धता र सांस्कृतिक सम्पदा संरक्षणमा समर्पणबाट आफू प्रभावित भएको बताउनुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनले चीनको भविष्यको बाटो कोरेको उल्लेख गर्दै नेता युआनले अब त्यो बाटो सफलतापूर्वक अगाडि बढाउन योग्य र साहसिला कार्यकर्ताहरूको चयनमा पार्टीले जोड दिइरहेको बताउनुभयो । चिकपाको २० औँ महाधिवेशनले पार्टी निर्माणमा राजनैतिक, वैचारिक र साङ्गठनिक काम तथा अनुशासनको पक्षमा जोड दिएको पनि उहाँले बताउनुभयो ।
भ्रष्टाचारविरोधी आन्दोलनलाई अगाडि बढाइरहेको उल्लेख गर्दै नेता युआनले समग्रमा २० औँ महाधिवेशनले पार्टीमा राष्ट्रपति सी चिनफीङको नेतृत्व र विचार स्थापित गरेको बताउनुभयो ।

प्रतिनिधिमण्डलले भक्तपुरको सिंहध्वाका दरबार, पचपन्नझ्याल दरबार, पाँचतले मन्दिर अभिरुचिपूर्वक अवलोकन गरेको थियो । प्रतिनिधिमण्डललाई स्थानीय जनताको सांस्कृतिक टोलीहरूले परम्परागत बाजा र नृत्यमार्फत स्वागत गरेका  थिए ।