म प्रणय दिवसलाई कसरी यादमा राखु ,हाम्रो विवाहको वर्षगाढ या तिम्रो मृत्युको वर्षदिन ?

0
1828
रंगिन सपना देख्ने र पूरा गर्ने
आखिर कसको चाहना हुन्न र?
मैले पनि तिमी संगका रंगिन
पलहरु सजाउन थालेकी
आज ठ्याक्कै आज ३वर्ष पुगेछ!
हिजो जस्तो लाग्छ त्यो
मायाको कोपिला फक्रदै गरेका
प्रिय ,
आजकै दिन मेरा सिउदो
तिम्रो रङ्गले रंगिएका थिए
अनि वर्ष दिन नपुग्दै ती रंगिन सिउदो
पखालिएका थिए!
अब भनन प्रिय ,
म प्रणय दिवसलाई कसरी हेरु
हाम्रो विवाहको वर्षगाढ या
तिम्रो मृत्युको वर्षदिन।
आजको दिनलाई म कसरी हेरु प्रिय ,
तिमी संग अग्नि साची राखी खाएका
सात जुनि सम्मका वाचालाई याद गरु
या
ती बीच बाटोमा छाडिएका साथलाई
सम्झी बियोगमा टड्पु!
विवाहमा रंगिएका ती
प्रेमको रातो रङ्गलाई सम्झनामा राखु
कि
रंगिन संसार एकैपल्ट मरुभुमीमा
परिवर्तन भएका दिनका रुपमा लिउ म!
भनिदेउ न प्रिय ,
म प्रणय दिवसलाई कसरी यादमा राखु
हाम्रो विवाहको वर्षगाढ या
तिम्रो मृत्युको वर्षदिन?
संगै सजाएका ती –
सपनाहरुको लर्कोलाई सम्झु
या
ती तिम्रा चित्ता संगै जलेका
हाम्रा वाचालाई सम्झु!
आजकै दिनमा बेहुलीको भेषमा सजिएकी म
आफुलाई तिम्री दुलहीको रुपमा याद गरु
कि
आजकै दिनमा सम्पुर्ण रङ्ग छाडेर सेतो रङ्गलाई
आफुमा उतारिएका पललाई यादमा राखु!
अब त भनिदेउ न प्रिय ,
म प्रणय दिवसलाई कसरी यादमा राखु
हाम्रो विवाहको वर्षगाढ या
तिम्रो मृत्युको वर्षदिन?
मुना मदन सरह होइन आफ्नो छुट्टै कहानी रच्ने
तिम्रा कुरालाई सम्झनामा राखु
या
चटक्क छाडि जानी तिम्रा ती साथलाई
मन मस्तिष्कमा सजाई राखु!
जीवनको उतार चढावमा सधै साथ रहने
संकल्पलाई यादमा राखु
कि
छोटाे समयमा चटक्कै छाडिएका ती तिम्रा
साथलाई यादमा राखु!
तिमी नै भनिदेउ न प्रिय ,
म प्रणय दिवसलाई कसरी यादमा राखु
हाम्रो विवाहको वर्षगाढ या
तिम्रो मृत्युको वर्षदिन?
-खुलिमुली