‘चे ग्वेभारा’ विश्वक्रान्तिका नायक हुन् । अर्जेन्टिनामा जन्मिएर क्युवामा क्रान्ति सम्पन्न गरी बोलिभियाको जङ्गलमा शहादत प्राप्त गर्ने क्रान्ति नायक चे ग्वेभारा आज विश्वका श्रमजीवी मजदुरहरूको ढुकढुकी बनेका छन् ।
विश्व साम्राज्यवादसँग लडेर दुनियाँभर समाजवाद स्थापना गर्ने महान उद्देश्य बोकेर उनी बोलिभिया पुगे । अदम्य साहसका धनी चेको त्यहीँ हत्या भयो । तिनै महान विश्व क्रान्तिका नायक ‘चे ग्वेभारा’ को जीवन कस्तो थियो त ?
परिवारका तेते पछि बने ‘चे’
अर्जेन्टिनाको एक मध्यम वर्गीय परिवारमा चेको जन्म सन् १९२८ जून १४ मा भयो । पेशाले उनका बुबा इन्जिनियर थिए । उनको जन्म स्पेनिस र आइरिस रक्तमिश्रित परिवारबाट भएको थियो । उनको जन्मको नाम अर्नेष्टो ग्वेभारा डे ला सेर्ना थियो । परिवारमा उनलाई तेते भनेर बोलाउँथे । पछि उनले आफ्नो नाम बदलेर चे राखे । चेको अर्थ अर्जेन्टिनी भाषामा ‘हाम्रो’ भन्ने हुन्छ ।
उनको परिवार शिक्षित र सुसंस्कृति पनि थिए । परिवारबाट उनले न्यायप्रतिको प्रेम, फाँसीवादप्रति घृणा, धार्मिक सहिष्णुता, साहित्यप्रति रुची राख्ने, आर्थिक उपार्जनलाई ध्यान नदिने जस्ता संस्कारहरू सिके ।
शिक्षकको नजरमा अनुशासनहीन
चे ग्वेभाराको शिक्षा दिक्षा सहज हुन सकेन । उनी दुई वर्षको उमेर मै दमको दीर्घ रोगी भए । अन्य बालकको जस्तो चे को स्कुल जीवन हुन सकेन । उनले ओच्छ्यानबाटै अध्ययनको थालनी गरे । भनिन्छ, उनको व्यवहार किशोर हुँदा युवाको जस्तो, युवा हुँदा परिपक्क प्रौढ जस्तो थियो । उनी आत्मविश्वासी, बहुआयामिक र विद्रोही स्वभावका थिए । शिक्षकको नजरमा मूडी, अनुशासनहीन तर अध्ययनशील थिए । अल्टा ग्रेसियाको स्कूले जीवन सकेर सन् १९४१ मा १३ वर्षको उमेरमै उनले डिन फ्यूनस स्टेट कलेजमा अध्ययन गरेका थिए ।
चार वर्षको कलेज अध्ययन सकेर राजधानी ब्यूनस आयर्सको यूनिभर्सिटीमा मेडिकल विभागमा डाक्टरीको लागि उनी गए । तर, उनको परिवारको चाहाना भने इन्जिनियर बनाउने थियो । क्यान्सर रोगबाट आफ्नी हजुरआमाको मृत्यु, आमाको क्यान्सरसँगको युद्ध र आफ्नै दम रोगका कारण उनी डाक्टरी पढ्नतिर लागे । उनले ६ वर्ष लामो विश्वविद्यालयको पाठ्यक्रम ३ वर्षमै पूरा गरे । उनले अध्ययनको क्रममा राम्रो नम्बर ल्याउनतिर कहिल्यै सोचेनन् ।
अन्तमा उनले निष्कर्ष निकाले कि गरीबी र आर्थिक विषमताको मुख्य कारण पुँजीवाद, नवउपनिवेशवाद र साम्राज्यवाद हो । जसबाट छुटकारा पाउने एकमात्र उपाय हो क्रान्ति ।
साइकलिङ गरेरै देशको कुनाकुना पुगे
उनी यात्रा गर्न औधी रुचाउँथे । अध्ययनको क्रममै उनी साइकलिङ गरेर देशको कुनाकाप्चा पुगे । स्वास्थका कारण भौतिक शरीर एकदमै जीर्ण देखिए पनि आत्मविश्वासका कारण देशविदेशको भ्रमण गर्न कहिल्यै छाडेनन् । पढन्ते र घुमन्ते स्वभावका उनी घुम्दाघुम्दै कार्ल माक्र्सदेखि सिगमण्ड फ्रायडसम्मका पुस्तकहरू अध्ययन गर्न भ्याए । चिकित्सा क्षेत्रको शिक्षाको क्रममै उनी पूरै ल्याटिन अमेरिकाको अधिकांश स्थानमा पुगे ।
यात्राको क्रममा पूरै महाद्वीपमा व्याप्त गरीबीले उनको हृदयमा नराम्रो गरी चोट पु¥यायो । उनले गम्भीर भएर सोचेँ । शारिरीक रोगको जैविक कारणको त उपचार गर्न सकिन्छ तर सामाजिक, आर्थिक र राजनैतिक कारणको उपचार कसरी सम्भव होला ? यो जटिल प्रश्न उनको जीवनमा यक्ष प्रश्न बनेर आईदियो ।
उनको डाक्टरी जीवनमाथि नै प्रश्न चिन्ह बनेर खडा भयो । डाक्टर बनेर दिनदुःखीको सेवा गर्ने उद्देश्य राखेका चे अब गरीबी असमानताका सामाजिक राजनैतिक कारणहरू खोज्नतिर लागे । गाउँ गाउँ पुगे । विभिन्न बस्ती बस्ती पुगे । त्यहाँ उनले देखे, पैसाको अभावमा उपचार गर्न नपाएका गरीबहरू । भोक, पीडाले पशु समान जीवन बाँच्न विवस मानिसहरू, अभाव र गरीबीकारण बाबुहरू स्वयम् आफ्ना सन्तानको मृत्युको कामना गरिरहेको दर्दनाक दृश्यहरू समेत देखे । यातायात मजदुरहरूका दुःखद जिन्दगीहरू देखे । भरियाका कथाहरू सुने । चिलीका खानीहरूमा पुगे । अमेजन जङ्गलका रेड–इण्डियन आदिवासीहरूको वस्तीदेखि पेरुका खेत–खलिहानसम्म पुगे ।
अन्तमा उनले निष्कर्ष निकाले कि गरीबी र आर्थिक विषमताको मुख्य कारण पुँजीवाद, नवउपनिवेशवाद र साम्राज्यवाद हो । जसबाट छुटकारा पाउने एकमात्र उपाय हो क्रान्ति । उनले भनेका छन् “मैले यात्रा गरेका देशरुको स्थिति हेरेर, त्यहाँको गरीबी र भोग रोकको निकट र जीवन्त सम्पर्कले ममा परिवर्तन ल्याउन थाल्यो । मैले यात्राको क्रममा पत्ता लगाएँ, स्रोत र साधनको अभावमा रोगी बच्चाहरूको उपचार गर्न म असमर्थ छु । मैले देखेँ– निरन्तर दमनका कार्यहरू जारी छन् । कुपोषणको आँधी चल्दैछ । यसै क्रममा मैले महसूस गर्न थालेँ, अनुन्धानकर्ता हुन मेडिकल साइन्समा योगदान दिन वा जनतालाई राहत दिन डाक्टर बन्नुभन्दा पनि महत्वपूर्ण कुरो हो– क्रान्तिकारी बन्नु ।”
चे ग्वेभारा, बोलिभियामा जीवन
त्यसपछि उनी १९५३ मा डाक्टरी पेशा छाडेर बोलिभियाको यात्रामा निस्किए । बोलिभियामा त्यसबेला पुँजीवादी सुधारवादी सरकारबाट राष्ट्रको टिन खानीलाई राष्ट्रिकरण गर्ने, जमिनहरू आदिवासी किसानहरूमा वितरण गर्ने सुधारवादी कार्यहरू भइरहेका थिए ।
त्यसले चे ग्वेभारालाई थप बल मिल्यो । चे विशेषज्ञहरू भन्दछन्, “बोलिभियाले चेको जीवनमा क्रान्तिकारिता भर्नेदेखि लिएर चेको जीवनको अन्तिम सङ्घर्ष गर्ने प्रेरणा दिएको थियो । उनको जीवनको सुरु र अन्य बोलिभियामै भएको थियो ।”
बोलिभियाको क्रान्तिपछि गएर सुधारवादी बाटोतर्फ पतन हुँदै जान थालेपछि चे चिन्तित भए । उनले ल्याटिन अमेरिकाका मुक्तिदाता सिमोन बोभिभारको शालिक अगाडि उभिएर बोलिभियाको सुधारवादको विरोध गर्दै भाषण गरे । त्यसपछि उनी ट्रकमा चढेर पेरुको आदिवासी क्षेत्रतर्फ लागे । त्यसपछि उनी ग्वाटेमाला पुगे । ग्वाटेमालाको सुधारवादी सरकारको कारण उनी अर्जेन्टिनाको दूतावासमा दुई महिना शरण लिन पनि बाध्य भए ।
ग्वाटेमालाको राजनीतिक दुर्घटनापछि चे मेक्सिकोमा गएर माक्र्सवादको गहिरो अध्ययन गर्न थाले । माक्र्स र लेनिनका सम्पूर्ण रचनाहरूदेखि छापामार युद्धका कला–कौशलसम्म अध्ययन गर्न भ्याए ।
क्युवाली डाक्टरसँग भेटेपछि
त्यसपछि मेक्सिकोमा रहँदै गर्दा जून १९५५ मा उनको एक जना क्युवाली डाक्टरसँग भेट भयो । क्युवालीहरूमध्ये एक थिए निको लोपेज । जोसँग ग्वाटेमालामा हुँदा उनीहरूको भेट भएको थियो । निकोले चेलाई फिडेल क्यास्त्रोको नेतृत्वमा क्युवामा भइरहेको क्रान्तिबारे सविस्तार बताए । कुराकानीको क्रममा क्युवामा सशस्त्र सङ्घर्ष छेड्ने तयारी भइरहेको भन्ने चेले थाहा पाए । त्यसपछि फिडेल क्यास्त्रोका भाइ राउल क्यास्त्रोसँग केही दिनपनि चेको भेट भयो । राउलबाट अझ बढी क्युवामा भइरहेको क्रान्तिबारे चेले थाहा पाए । पछि उनको फिडेल क्यास्त्रोसँग भेट भयो र दिन रात छलफल गरे । त्यसपछि एक अर्जेन्टिनी नागरिक क्युवाको मुक्ति आन्दोलनको सेना बनेर युद्धमा होमिए । क्युवाली क्रान्तिले क्रमशः सफलता हासिल गर्दै १ जनवरी १९५९ मा क्रान्ति सफल भयो । क्रान्तिपछिको क्युवाली सरकारमा विभिन्न जिम्मेवारीमा रहे ।
उनी मन्त्री पदमा बसी रहेनन् । फिडेल क्यास्त्रोलाई धेरै महत्वपूर्ण सहयोग गरे । सारा विश्व घुमेर क्युवाको समाजवादको लागि अन्तर्राष्ट्रिय समर्थन जुटाइरहे । अन्ततः उनी मन्त्री पद त्यागेर निस्किए कङ्गोतर्फ ।
हत्याको ४७ वर्षपछि भेटियो चेको शव !
उनी पुगे १९६५ मा कङ्गो । जहाँ उनले क्रान्तिकारी विचार प्रवाह गरे । यसपछि बोलिभिया पुगे । बोलिभियाको जनताको मुक्तिका लागि लड्दा लड्दै उनी पक्राउ परे । पछि उनको ९ अक्टोबर १९६७ हत्या भयो । हत्यापछि पनि चेको शव बेपत्ता पारियो । चेको हत्याको ४७ वर्षपछि मात्र सार्वजनिक भयो ।
२८ वर्षपछि चेको हत्यामा सम्लग्न रिटायर्ड बोलिभियाली सैनिक जनरल मारियो भर्गासले ठूलो आँटका साथ भने, “चेलाई अत्यन्त गोप्यरूपमा गाडिएको बेला म प्रत्यक्षदर्शी थिएँ । चेसम्बन्धी रहस्य म अब खोल्छु ।” उनकै सहयोगमा कयौँपटक अस्थिपञ्चर उत्खनन गर्ने कार्यहरू भए ।
आज चेसम्बन्धी कयौँ पुस्तकहरू उपलब्ध छन् । उनकै क्रान्तिकारी जीवनसँग सम्बन्धित चलचित्रहरू निर्माण भएका छन् । उनको यात्रासँग सम्बन्धित मोटर साइकल डायरीको चलचित्र बनेको छ । गुरिल्ला युद्धको नियमहरू प्रकाशित छन् ।
आज क्युवाको सान्ता क्लारा सहरको बिचमा चेले बन्दूक उठाएको २३ टन तौल भएको भव्य शालिक निर्माण गरिएको छ । जुन शालिक १९९७ अक्टोबर १७ तारिखमा निर्माण भएको थियो ।
अक्टोबर ९ लाई क्युवाली सरकारले ‘हिरोइक गुरिल्ला डे’ का रूपमा भव्य समारोह गरी कमरेड चेको स्मृति दिवस बनाउँदै आएको छ । जुन दिन चेको निर्मम हत्या भएको थियो । त्योभन्दा पनि ठूलो आज दुनियाँका श्रमजीवीहरूको मनमा सदा बास बस्ने अन्तर्राष्ट्रिय क्रान्तिका नायक बनेर कमरेड चे ग्वेभारा बाँचिरहेका छन् ।
– सन्दर्भ : चे ग्वेभारा जन्म दिवस (जून १४)