भक्तपुर । दसैँको मुखमा भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सूर्यविनायकस्थित एक खाजा घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सूर्यविनायक बस्ने सिन्धुपाल्चोक चौतारा नगरपालिका–१० का ३५ वर्षीय माला तामाङ, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ ज्यामिरेका २५ वर्षीय राजु खड्का, काभ्रेपलान्चोक देउराली गाउँपालिका–५ का ३१ वर्षीय पार्वती तामाङ, काभ्रेपलान्चोक बेथा चोक गाउँपालिका–२ का दिल तामाङ, दोलखा सैलुङ गाउँपालिका–२ का ३६ वर्षीय सिटुक तामाङ र भक्तपुर चाँगुनारायण नगरपालिका–५, छालिङ बस्ने ३३ वर्षीय विनोद लगेजु छन् ।
पक्राउ पर्ने मध्ये पार्वती खाजा घरका सञ्चालिका हुन । उक्त खाजा घरमा तास खेलिरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट ३८ हजार रुपैंया र एक बुक तास बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी वसन्त पाठकले बताउनुभयो ।